खराब मौसमका कारण दैलेखमा सञ्चार अवरुद्ध , सूचना व्यवस्थापन प्रभावित

दैलेख, मंसिर २० – खराब मौसमका कारण दैलेखको पश्चिम क्षेत्रको अधिकांश ठाउँमा सञ्चार अवरुद्ध भएको छ । सबै ठाउँमा विद्युत नपुगेको दैलेखका केही ठाउँमा सोलार प्यानलले चार्ज गर्ने गरी नेपाल टेलिकम र एनसेलका बिटिएस टावरमा पावर सप्लाई नै नभएपछि मोवाइल नेटवर्क पूर्ण रुपमा बन्द भएको हो ।

घाम नलागेर सोलार चार्ज हुन नसकेपछि दैलेखको पश्चिम क्षेत्रका आठबीस नगरपालिका, ठाँटीकाँध गाउँपालिका, पूर्वी क्षेत्रका नौमूले र भगवतीमाई गाउँपालिकाको पूरै भाग सञ्चार सम्बन्ध विच्छेद भएको छ । दुल्लु नगरपालिका, महाबु, भैरवी र गुराँस गाउँपालिकाको आंशिक क्षेत्रमा समेत बादल लागेसँगै मोवाइल फोन चल्न सकेको छैन । मोवाइल, फोन नचल्दा चुनावका लागि सूचना व्यवस्थापन प्रभावित भएको छ ।

उपभोक्तालाई त असुविधा भएकै छ नै, मोवाइल सेवा समेत अवरुद्ध भएपछि निर्वाचन आयोगले खटाएको मतदान टोली मतदान स्थलमा पुगी सकेपछि पनि त्यहाँ तयारीका कामको निर्वाचन अधिकृतको कार्यालयलाई खबर गर्न सकेका छैनन् । आठबीस नगरपालिकाको राकमबजारका मतदान अधिकृत बिष्णु जैसी र बेरु पाटाका रेवन्त रावलले १७ गते नै मतदान केन्द्रमा पुगेको जानकारी बाहेक अरु खबर नपाएको बताउनुभयो ।

कमेन्टहरु
Loading...