एनआरएनको जलबिद्युत परियोजनामा सातवटा बैंकले सवा ३ अर्ब लगानी गर्ने

१० साउन, काठमाण्डौ । गैरआवासीय नेपालीहरुको सामूहिक लगानीबाट बन्न लागेको पहिलो जलबिद्युत परियोजनाका लागि नेपाली बैंकहरु संयुक्त ऋण लगानी (कन्सोर्टीयम) मा सहमत भएका छन् ।
गैरआवासीय नेपालीको सामूहिक लगानी रहेको २७ मेगावाट क्षमताको तनहुँको दोर्दीखोला जलबिद्युत आयोजनामा प्राइम कर्मसियल बैंकको नेतृत्व नेपालका सातवटा बैंक तथा बित्तिय संस्थाहरुले ऋण लगानी गर्ने भएका छन् ।
करिव सवा ४ अर्ब लगानी हुने परियोजनामा बित्तिय संस्थाहरुले ३ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने तयारी गरिरहेका छन भने १ अर्ब रुपैयाँ उत्पादक कम्पनीले लगानी गर्दै छ । उर्जा क्षेत्रमा लगानी गर्न सरकारले स्थापना गरेको जलबिद्युत बिकाश कम्पनीले पनि यो परियोजनामा लगानी गर्ने छ । ‘प्राइमको लिडमा दोर्दी खोलामा हामी लगानी गर्न तयार भइसकेका छौं’ जलबिद्युत बिकाश कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले भन्नुभयो । कन्र्सोटियममा सहमति जनाउने अन्य बैंकहरुमा नविल बैंक, ग्लोबल आईएमई बैंक लगायत रहेका छन् ।
आईएमई समूहद्वारा प्रर्बद्धित हिमालयन पावर पार्टनर प्रालिको निर्माण गर्न लागेको यो परियोजनामा ५१ प्रतिशत सेयर गैरआवासीय नेपालीहरुको रहेको छ । एनआरएन इन्भेष्टमेन्ट कम्पनीको आह्वानमा बिश्वभर छरिएका करिव ७ सय नेपालीहरुले संकलन गरेको एक अर्बमध्ये ५१ प्रतिशत लगानी यो परियोजनामा गरिएको हो ।
‘कन्र्सोटियमका लागि सैद्धान्तिक सहमति भइ सम्झौतासमेत भइसकेको छ, आर्थिक बर्षका कारण केही प्राबिधिक बिषयहरुमात्र टुंगाउन बाँकी छ’ हिमालय पावर पार्टनरका निर्देशक एवं गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामेश्वर साहले भन्नुभयो-’एनआरएनको आगामी अक्टुवरमा हुने छैटौं बिश्व सम्मेलनमा लगानीकर्ताहरुलाई साइट देखाउन सक्ने गरी तयारी गरिरहेका छौं ।’
परियोजनाले यसअघि नै नेपाल बिद्युत प्राधिकरणसँग बिद्युत खरिद सम्झौता(पीपीए) गरिसकेको छ । सम्झौताअनुसार दोर्दीखोला परियोजनाले बर्षायाममा ४ रुपैयाँ ८ पैसा प्रतियुनिट र सुख्खायाममा ८ रुपैयाँ ४ पैसा प्रतियुनिटमा बिजुली बेच्ने छ ।

कमेन्टहरु
Loading...