समता शिक्षा निकेतनमा गुरु पूर्णिमा

पोखरा, ७ साउन/मासिक एकसय रुपैयाँ शुल्कमा विद्यार्थीलाई पढाईरहेको पोखराको प्रस्याङस्थित समता शिक्षा निकेतनका विद्यार्थीले सोमबार गुरु पूर्णिमाको दिन आफ्ना गुरुलाई सम्मान गरेका छन् । विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीले गुरुहरुलाई सम्मान गरेका हुन् ।
यसै अवसरमा विद्यार्थीले विद्यालयमा सांस्कृतिक कार्यक्रम समेत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि कास्कीका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुईटेलले शिक्षामा धेरै बजेट लगानी भएपनि उपलब्धी कम भईरहेकोमा सस्तो शुल्कमा पढाएर समताले गुणस्तरीय शिक्षा दिन सफल भएको बताए ।
पछिल्लो समय धनि र गरिबले पढाउने शिक्षाको खाडललाई पुर्न समता शिक्षा निकेतनले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले आगामी दिनमा समतालाई सहयोग गर्न तत्पर रहेको बताए । कार्यक्रममा प्रिन्सिपल झलक शर्माले विद्यार्थीलाई लगाव लिएर पढेमा सस्तो शुल्कमा पनि उपलब्धीमुलक शिक्षा लिन पाईने बताए । उनले विद्यार्थीको भविश्यप्रति विद्यालय पदाधिकारी सधै चिन्तित रहेको सुनाए ।
विद्यालय व्यवस्थापनका संयोजक उमेश रेग्मीले विद्यार्थीभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । एकसय रुपैयाँ शुल्कको स्कुलमा पढाएर आफूलाई कमजोर नठान्न उनले अभिभावक र विद्यार्थीलाई आग्रह समेत गरे । विद्यालयकी शिक्षिका सविना परियारले विद्यार्थीको सफलताको लागि आफूहरु रातदिन लागिपरेको बताईन ।
त्यस्तै शिक्षक रघुनाथ लामिछानेले सस्तोमा गुणस्तररिय शिक्षा खुल्नुपर्ने बताए । सस्तोमा पढाएर समताले कम आयश्रोत भएका परिवारका बच्चाका लागि ठुलो योगदान दिएको उनले बताए । कार्यक्रमकि सभापति कक्षा ९ कि छात्रा सपना देवाकोटाले अरु विद्यालयको तुलनामा समता शिक्षा निकेतन कुनै पनि हिसाबले कमजोर नभएको बताईन । सो अवसरमा विद्यार्थीले शिक्षकहरुलाई सम्मान गर्दै विविध सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए ।
 
 
 

कमेन्टहरु
Loading...