मोबाइल र मोटरसाइकलमा रोक

काठमाडौं, ३१ भदौ/ पछाडि उठाएर अग्लो बनाएको मोटरसाईकलमा हाहाहुहु र होहल्ला गर्दै कलेज जाने ठिटाहरुले अब यसो गर्ने दिन जाने भएको छ । उच्च माध्यमिक विद्यालयमा बढ्दै गएको विकृति रोक्न गठन भएको कार्यदलले कलेज पोशाकमा मोटरसाइकल चढ्न रोक लगाउने सिफारिस गरेको छ ।

यस्तै कलेजमा मोबाइल बोक्न पनि नपाइने भएको छ । पढाई भन्दा होहल्ला, मायाप्रेम र अरु नै गतिबिधिमा कलेजका विद्यार्थीहरुको ध्यान बढ्न थालेपछि यस्तो नियम लागू हुन लागेको हो । नियम उच्चमावि र माध्यमिक विद्यालयमा समेत लागू गर्ने तयारी छ । कार्यदलले आफ्नो प्रस्ताव आइतबार शिक्षा मन्त्रालयमा बुझाएको छ ।

‘हामीले कार्यदलको प्रतिवेदन पायौं, यसलाई अध्ययन गरेपछि छिटै लागू हुन्छ’ शिक्षामन्त्री दिनानाथ शर्माले भन्नुभयो । उहाँले प्रतिवेदनमा उठाइएका विषयलाई कार्यान्वयनमा ल्याउन शिक्षा सचिवलाई निर्देशन दिनुभएको छ ।

कमेन्टहरु
Loading...