असमय लिएर आए आँसु

पोखरा, ७ साउन/साहित्यकार शरण आँसु आफ्नो दोस्रो कृति कविता सञ्चयन ‘असमय’ लिएर पाठक माझ आएका छन् । असमयको पोखरेली युवा सांस्कृतिक परिवारद्धारा आयोजित एक समारोहविबच शनिबार कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ सरुभक्तले विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै उहाँले नेपाली साहित्यमा परम्परागत आँखाबाट मात्र अहिलेका सिर्जनालाई हेर्ने दृष्टिकोण हावी भएको बताउनुभयोे । उहाँले भन्नुभयो े–‘लेखकको क्षमता, अभिरुचिलाई भन्दा आफ्नो आग्रहलाई साहित्य ठान्ने प्रवृत्ति हावी छ ।’कवि आँसुका कवितामा सरल र जटिल दुबै खालका विम्ब र समसामयिक देशको तस्बिर रहेको उहाँको भनाई थियो । असमय कविता सञ्चयनको समीक्षा गर्दै डा. कुशुमाकर न्यौपानेले नेपाली कविताको प्रतिनिधि कविको रुपमा संग्रहले कवि आँसुलाई स्थान दिएको धारणा राख्नुभयो ।
कृतिमाथि समीक्षा गर्दै अर्का समीक्षक पुण्यप्रसाद शर्माले केही सरल र केही जटिल बिम्बहरुले कृति बढी बौद्धिक भएको बाउनुभयो ।पोखरेली युवा सांस्कृतिक परिवारले प्रकाशन गरेको यस कृतिमा ४८ कविता संग्रिहित छन् । आफ्ना कविताको विषयमा कवि आँसु भन्नुहुन्छ ्–‘कतै यी कविताहरुमा मैले आफैलाई र कतै मेरो देशलाई पढ्न खोजेको छु ।’
कार्यक्रममा अर्जुन अधिकारी र डा. बसन्त गौतमले विमोचित कृतिबाट एक–एक कवितावाचन गर्नुभएको थियो । संरक्षण कविता आन्दोलन, नेपाली लेखक संघ, पोखरेली युवा सांस्कृति परिवार जस्ता संस्थाहरुमा आबद्ध आँसुको यस अघि गजल सञ्चयन नजरभरिको सपना प्रकाशित भईसकेको छ । संस्थाकी अध्यक्ष सरस्वती प्रतीक्षाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुरेश रानाभाट र सञ्चालन सचिव प्रकाश ज्ञवालीले गरेका थिए ।
 

कमेन्टहरु
Loading...