नागरिकको सुरक्षा सुदृढीकरणको लागि प्रहरी र नागरिक वीच सहकार्य हुनु पर्नेमा जोड

पोखरा, ७ साउन/नागरिकहरुको सुरक्षा सुदृढीकरणकरणको लागि नागरिक र प्रहरी वीच सहकार्य हुनु पर्नेमा आइतबार सार्दीखोलामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजना तथा युएसआईपी नेपालको सहयोगमा नागरिक सुरक्षाको अवस्था र प्रहरी–नागरिक सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन् ।कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले शान्ति सुरक्षा र अपराधको सही अनुसन्धान गर्नु नै प्रहरीको व्यवसायिक धर्म भएको भन्दै विकृति, विसंगति शान्ति सुरक्षा कायम गर्न प्रहरी र नागरिक वीच सहकार्य र समन्वय हुनु पर्नेमा जोड दिए । उनले भने–प्रहरी भनेको बर्दी सहितको नागरिक हो भने नागरिक बर्दी विनाको प्रहरी हो, त्यसैले समाजमा हुने घटनाको बारेमा नागरिकले सही सूचना दिएर सहयोग गर्नुपर्छ । जनमुखी प्रहरी सेवालाई तल्लो तहसम्म पु¥याइ निष्पक्ष रुपमा काम गर्नको लागि नागरिकको सहभागीता र सहकार्य विना सम्भव नभएकोले विश्वासको वातावरण निर्माण गर्नु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेलले गाउँस्तरमा नागरिकहरुको सुरक्षाको अवस्था कस्तो छ र नागरिकहरुको सुरक्षा सुदृढीकरणको लागि नागरिक र प्रहरी वीच सहकार्यको लागि सम्बन्ध विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा अधिवक्ता सुरेन्द्र थापामगरले नागरिक सुरक्षाको वर्तमान अवस्था र प्रहरी–नागरिक सहकार्य सम्बन्धी अवधारणापत्र प्रस्तुत गर्दै समाजमा लोकतन्त्र स्थापनापछि पनि नागरिकले शान्ति सुरक्षा र विधिको शासन प्रत्याभूति गर्न नसकेको बताए । नागरिक र प्रहरी वीच सहकार्य बढाउन स्थानीय आवश्यकता हेरी सुरक्षा प्रदान गर्नु पर्ने, भ्रष्टाचार मुक्त, सुरक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर्नु पर्ने, अपराधको कारण र त्यसप्रतिको दृष्टिकोण बारे सम्बोधन गरी उजुरी प्रकृया प्रष्ट र सरल बनाउनु पर्ने, प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउनु पर्ने र सबैका लागि समान व्यवहारको सुनिश्चित गर्नु पर्ने बताए ।
एमाओवादीका प्रतिनिधि प्रदीप आचार्य (केदार)ले प्रहरीले भनसुनको रुपमा नलागेर कानुन बमोजिम अपराधीलाई कारबाही गर्नु पर्ने बताए । नेपाली काँग्रेस गाउँ इकाई सभापति इन्द्रबहादुर गुरुङले गाउँ समाजको भएको विकृति विसंगतिलाई सबै मिलेर न्यूनीकरण गर्नु पर्ने बताए । नेकपा एमाले गाउँ कमिटी अध्यक्ष गिरीधारी आचार्यले नागरिकले शान्ति सुरक्षा र विधिको शासनप्रति सचेत रही सत्य, तथ्य सूचना प्रहरीलाई दिएर सहयोग गर्नु पर्ने बताए । नेकपा–माओवादीका प्रतिनिधि रामप्रसाद वास्तोलाले समाजको घटनालाई ढाकछोप गर्ने र झुटो आरोप लगाउने प्रवृत्तिको अन्त्य गर्नु पर्ने बताए ।
कार्यक्रममा अस्थायी प्रहरी चौकी सार्दी खोलाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक क्षेत्रबहादुर बरुवाल, सार्दीखोला हेल्थपोष्ट व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर तामाङ, महिला सञ्जालका अध्यक्ष विष्णुदेवी आचार्य, नेपाल रेडक्रस सोसाईटीका खेमराज आचार्य, सार्दीखोला स्वास्थ्यचौकीका सिनियर अहेव देवकुमार सुनुवार, माछापुच्छ«े उच्चमावि व्यवस्थापन समितिका अध्यक्ष बज्रमोहन आचार्य, सामुदायिक मेलमिलाप केन्द्रका संयोजक तोजबहादुर गुरुङ, नारायणी रेग्मी जाँड, रक्सी र जुवातासको कारण समाजमा झैझगाडा हुने गरेको बताए ।
गाउँ विकास समितिका सचिव जगन्नाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम इन्सेक पोखराका प्रलेख सहायक अधिकृत टंक खनालले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा नागरिक समाज, विभिन्न संस्था, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सर्वसाधरण, सञ्चारकर्मी, सुरक्षाकर्मी गरी ५५ जनाको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...