एउटै सडकमा पाँचवटा बजेट परे पनि सडक बनेन

एउटै सडकमा पाँचवटा शीर्षकमा बजेट परे पनि तद्अनुरूप काम नहुँदा जिल्लाको कौशलटार–बालकोट– सिरुटार सडक जीर्ण बनेको छ। आर्थिक वर्ष २०६९/०७० मा पहुँचको आधारमा एउटै सडकमा विभिन्न पाँचवटा शीर्षकमा बजेट परे पनि ठेकेदारले काम नगरेपछि अहिले कौशलटारबाट बालकोट हुँदै सिरुटार जाने एकमात्र मुख्य सडक जीर्ण हुँदा पैदल यात्रुदेखि सवारी आवागमनमा समेत बाधा पुग्न थालेको छ।

राष्ट्रिय योजना आयोगको रातो किताबमा कौशलटार–बालकोट–बिरुवा सडक कालोपत्रे र नाली बनाउन पाँचवटा योजना परे पनि आव २०६९/०७० कुनै पनि काम हुन नसकेपछि कालोपत्रे सो सडक खाल्डो नै खाल्डो भएर जीर्ण भएको हो। बालकोट सडकको काम पूरा गर्न डिभिजन सडक कार्यालय भक्तपुरले गत पुसमा ठेक्का लगाए पनि कुनै पनि ठेकेदारले काम गरेका छैनन्।
फरक–फरक व्यक्तिको पहुँच र भनसुनका आधारमा एउटै सडकमा पाँचवटा योजना परे पनि काम हुन नसकेपछि स्थानीय बासिन्दाले डिभिजन सडक कार्यालय भक्तपुरलाई पटकपटक सडक निर्माण गर्न आग्रह गरेका थिए। तर कार्यालयले कुनै पनि ठेकेदारलाई काममा लगाउन सकेको छैन।
सडक डिभिजन प्रमुख विष्णु पौडेल भने स्थानीय बासिन्दाले दबाब दिए पनि पानी परेकाले ठेकेदारले समयमै काम गर्न नसकेको बताउनुहुन्छ। उहाँले भन्नुभयो, “पानी परेकाले काम ढिलाइ भएको हो, सडक पिच गर्न नसकेपछि यस वर्ष ग्राभेलसम्म मात्र हुन्छ।” तर डिभिजन प्रमुखले भनेजस्तो सडक ग्राभेलसमेत नहुँदा बालकोट र सिरुटारका बासिन्दाले सास्ती खेप्नुपरेको बालकोटका घनश्याम कार्कीले बताए।
बालकोट सडकमा रु ४७ लाख २४ हजारको बजेट विनियोजन भएको छ। यसमा सबैभन्दा कम एउटा रु दुई लाख १६ हजार ९०० को रहेको छ। सबैभन्दा बढी कौशलटार, बालकोट–बिरुवा सडक नाली निर्माण शीर्षकमा रु ३१ लाख विनियोजन भएको छ।
डिभिजन प्रमुख पौडेल भन्छन्, …योजनाको सडक एउटै भए पनि भित्रको अरू सडकलाई समेत बजेट विनियोजन गरेकाले धेरै शीर्षक देखिएको हो, जति योजना र बजेट भए पनि काममा ढिलाइ भएकै हो।’ सडक डिभिजन कार्यालयका प्रमुखदेखि कर्मचारीसम्मको ठेकेदारसँग आर्थिक लेनदेन भएकाले सडक निर्माणमा ढिलाइ भएको कर्मचारीको आरोप छ। डिभिजन सडक कार्यालयकै कर्मचारीका अनुसार सडक बन्नुअघि नै ठेकेदारसँग कमिसन खाएकाले कार्यालयले ठेकेदारलाई काम गराउन नसकेको हो।
सडक छिटो बनाउनुपर्ने स्थानीय बासिन्दाको मागलाई डिभिजन सडक कार्यालय र ठेकेदारहरूले अटेर गरेका छन्। अबको एकसातामा पनि सडक नबने स्थानीयस्तरमा बालकोट सडक सङ्घर्ष समितिमार्फत आन्दोलन गर्ने बालकोटका कमल निरौलाले बताए। रासस

– See more at: http://setopati.com/samaj/2610/#sthash.d1QZBsJv.dpuf

कमेन्टहरु
Loading...