बोलबम तयारी अन्तिम चरणमा, बोलबम कार्यक्रमलाई राष्ट्रियकरण गर्नुपर्नेमा जोड

पोखरा, २ साउन /पोखरामा मनाउँदैआइएको बोलबम कार्यक्रमलाई राष्ट्रियकरण गर्नुपर्नेमा जोड

दिइएको छ । बोलवमको ध्वनिले शान्ति पाउन् साराले भन्ने मूलमन्त्रका
पोखराको बैदामस्थित केदारेश्वर महादेवमणि संरक्षण समितिले आयोजना
गर्दैआएको बोलबम यात्राको ११ औं संस्करण यही सोमबारदेखि सुरु हुँदैछ ।

भक्तजनहरुले साउनको सोमबार गाइघाटस्थित सेतीकिनारबाट जल लिएर केदारेश्वर
मन्दिरमा शिवलिङमा चढाउनुका साथै शिवको आराधना गर्दछन् ।

पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै बोलबम संयोजक शंकर
खरालले पोखरामा मनाउँदैआइएको बोलबम कार्यक्रमलाई राष्ट्रियकरण
गर्नुपर्नेमा जोड दिए । उनले धार्मिक र सामाजिक परिवर्तनमा बोलबम
कार्यक्रमको भूमिका महत्वपूर्ण रहेको बताए ।

यस वर्ष पनि साउन महिना सुरु भएपछि पोखरामा बोलबमको चर्चा सुरु भएको छ ।
साउन महिना भगवान शिवको महिना मानिन्छ । आयोजक समितिले विगत एक दशकको
बोलबम शान्ति शिव पदयात्रा सफलतापछि ११ औ संस्करणको कार्यक्रममा पनि
सम्पूर्णबाट उत्तिकै सहयोगको अपेक्षा गरेको जनाएको छ ।

कार्यक्रममा बोल्दै मन्दिर संरक्षण समितिका अध्यक्ष सूर्यनाथ अधिकारीले विगतमा
सम्पूर्णको सहयोगबाट कार्यक्रम सफल बन्दै आएको बताए । उनले यसको चर्चामा
संचारमाध्यमको सहयोग रहेको भन्दै यसपटक पनि प्रचारप्रसार गरि सहयोग
गरिदिन आग्रह गरे ।

यस वर्ष साउनको ७, १४, २१ र २८ गते परेका सोमबारहरुमा गरिने बोलबम
कार्यक्रमको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको उनले बताए । उनले
साउन ४ गते मन्दिर परिसर र गाइघाट क्षेत्रमा सरसफाइ गरिने छ भने प्रचारस्वरुप ५
गते पोखरामा मोटरसाइकल ¥याली आयोजना गरिने जनाए ।

पहिलो सोमबार गुरुपूर्णिमाका दिन गाइघाटबाट वाजागाजाका साथ भजन, कृतन र
नाचगान गरी नगरका विभिन्न भागको परिक्रममा गरी केदारेश्वर मन्दिरको
ज्योतिर्लिङ्गमा जलार्पण गर्ने, प्रसाद ग्रहण र दिनभर भजनर्कीतन गर्ने कार्यक्रम
रहेको संयोजक खरालले जनाए ।

कार्यक्रममा बोल्दै पत्रकार सुष्मा पौडेलले बोलबम कार्यक्रमले धर्म, संस्कृतिको
संरक्षणका साथै धार्मिक पर्यटन प्रवद्र्धनमा समेत मद्धत पुगेको बताइन् ।

बोलबम कार्यक्रम सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको सचिव खिमबहादुर
पहारीले बताए ।

मन्दिरका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष
दयानन्द पोखरेलले गरेका थिए भने स्वागत सदस्य लक्ष्मण गौतमले गरेका थिए ।

यसैक्रममा साउने सँक्रान्तिको दिन मंगलबार मन्दिरमा दर्शन गर्न आउने भक्तजनको
संख्या उल्लेख्य रहेको मन्दिरका पुजारी इन्द्र पौडेलले जनाए । मंगलबार
रुद्राभिषेकसहित १००८ बेलपत्र अर्पण गरिएको थियो । कार्यक्रममा पोखराका
उद्योगपति एवं समाजसेवी गणेशबहादुर श्रेष्ठ, सुशील गोशली, डीआइजी भीष्मकान्त
अर्याल, ओशोधारा ध्यान केन्द्र पोखराका संयोजक नारायण शर्मालगायतको पनि
उपस्थिति थियो ।

कमेन्टहरु
Loading...