तस्करीको सुनमा व्यापारीको ध्यान किन ?

काठमाडौं, २२ भदौ /सरकारबाट अनुमति पाएका बैंकहरूले दिने गरेको सुनभन्दा तस्करी सुनको गुणस्तर राम्रो भएपछि व्यापारीको ध्यान त्यसतर्फ केन्द्रित हुँदै गएको छ। बैंकिङ च्यानलबाट आयात भएको सुनबाट गहना बनाउँदा जर्ती बढी जाने भएकाले कम नाफा हुने गरेको छ। श्रीधर खनाल र मेनुका कार्कीले आजको अन्नपूरुणमा लेखेका छन्।

तस्करीको सुनको गुणस्तर राम्रो भएपछि व्यापारीले बैंकसँग सुन किन्न मन नपराउने नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन बताउँछन्। उनले भने, ‘भन्सार नतिरेका कारण तस्करी भएर आएको सुन सस्तो पनि भयो। त्यसमाथि शुद्धता बढी भएका कारण नाफा पनि बढी भयो।’ अर्कोतर्फ गत जेठदेखि राष्ट्र बैंकले सानो परिमाणमा सुन किन्न पाउने व्यवस्था नगर्दासम्म व्यापारीले एक किलोभन्दा कम तौलको सुन किन्न पाउँदैनथ्ये। यसको फाइदासमेत तस्करले उठाउँदै आएका थिए। अहिले बैंकिङ च्यानलबाटै सय ग्रामसम्म सुन किन्न पाइन्छ।

बैंकिङ च्यानलबाट आएको सुनको गुणस्तरका विषयमा व्यापारीले प्रश्न उठाएपछि तत्कालीन वाणिज्य मन्त्रालयले बैंक तथा व्यापारीबीच छलफल सुरु गरेको थियो। सुनको गुणस्तर कायम गर्नेसम्बन्धी निर्देशिका ल्याउनसमेत मन्त्रालयले पहल गरेको थियो। तत्कालीन वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय ९९९९ अंकित सुन मात्र ल्याउन सहमति भएको बताउँछन्। यसअघि अर्थात् असारसम्म बैंकहरूले ९९.५० अंकित सुन ल्याउँथे।

त्यस्तो सुनलाई २४ क्यारेट नै भनिए पनि आधा प्रतिशत कम शुद्धता हुन्थ्यो। बैंकहरूले त्यस्तो सुन ल्याए पनि व्यवसायीले भने उपभोक्तालाई २४ क्यारेटकै मूल्य लिने र दिने गरेका थिए। सुन आधा प्रतिशत कम भए पनि शुद्धतामा भने शून्य दशमलव ५ प्रतिशत कम हुने नेपाल सुन, चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन्।

 

कमेन्टहरु
Loading...