त्यति साह्रो निराश पनि नहोउँ…बन्दैछ नेपाल

नेपालमा केही हुँदैन। सब चोर छन्। सब भ्रष्ट छन्। फोहरको डुङ्गुरमा बसेर कसरी वासना आएको छ भन्ने ? नकारात्मकताको बीचमा बसेर कसरी सकारात्मक सोच्ने ? यहाँ केही हुनेवाला छैन। भत्किसक्यो, सिद्धिसक्यो….!!

अहिले नेपालमा अधिकांशको विचार यस्तै छ। तर सिकिस्त रोगले थला परेर आफू मर्छु भन्ने थाहाभइसकेको मान्छेलाई बाँच्ने आशा हुन्छ। डुबिरहेको मान्छेलाई एउटा सिन्काले पनि आफूलाई पार गर्ने भर हुन्छ। उज्यालो मन पराउनेले अँध्यारोलाई पनि मन पराउनै पर्छ। किनभने रातको अँध्यारो नभई बिहानको उज्यालो संभव छैन। चारैतिर निराशा छाएको बेला केही आशा गर्ने ठाउँ नेपालमा के-के छ त ?

काठमाडौँ-कुलेखानी-हेटौडा सुरुङ मार्ग – ४ वर्षभित्र

slide-1a

slide-2a

slide-3a

slide-4a

slide-5a

अनुमानित कार्य सम्पन्न मितिः चार वर्ष
काम थालिनेः यसै वर्ष
कार्य प्रगतिः ३५ अर्ब लगानी लाग्ने, सामान्यतया बैँक ३०-७० को मोडलमा (३० प्रतिशत लगानीको प्रत्याभूति भए ७० प्रतिशत लगानी गरिदिने) जाने भए पनि कुशकुमार जोशीको टिम यसमा ५०-५० को मोडलमा जान खोजिरहेका छन्। अर्थात् १८ अर्बको खोजी। युरोपका केही देशबाट त्यहाँ बस्ने नेपालीले एक अर्ब लगानीको प्रतिवद्धता जनाइसकेका छन्। अमेरिकामा बस्ने नेपालीहरुले पनि एएनएमार्फत् लगानी गर्ने भएका छन्। अहिले आइपिओ खुला नगरिसकेको भए पनि रुपियाँ एक लाख र रुपियाँ १० लाख लगानी गर्न सक्ने सेयरधनीको खोजीमा उनी देशविदेश धाइरहेका छन्‌। अमेरिकाबाट उनी जापान जाँदैछन्। कुशकुमारलाई भेट्दा लाग्छ, सुरुङ मार्ग पक्कै बन्छ। त्यति कन्फिडेन्ट छन् उनी।

रेलमार्ग

railway
के हुँदैछः पूर्व-पश्चिम रेलमार्ग आयोजना अन्तर्गत १०८ किलोमिटर लामो बर्दिवास-सिमरा खण्डको रेल्वे लाइन निर्माण कार्य यही आर्थिक वर्षमा सुरु गरिनेछ।

सिमराबाट बुटवलसम्मको खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ यही वर्ष। यसका लागि यो वर्षको बजेटमा १ अर्ब ४० करोड छुट्याइएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलहरु


निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा अधिग्रहण र बस्ती पुनःस्थापना कार्य भइरहेको छ। यो विमानस्थल बनाउन पनि सरकारी-निजी-साझेदारीमा निर्माण-सञ्चालन-हस्तान्तरण पद्धति लागू गरिनेछ। अर्थात् निजी कम्पनीले यसलाई बनाउनेछ। निश्चित अवधिसम्म सञ्चालन गर्नेछ। त्यसअवधिमा उड्ने जहाज, यात्रुहरुबाट शुल्क उठाउनेछ र निश्चित अवधि सकिएपछि सरकारलाई हस्तान्तरण गर्नेछ। यसका लागि इच्छुक कम्पनीहरुले तयारी गरिरहेका छन्।

सडक

slide-7a
• काठमाडौँ-तराई-मधेश फास्ट ट्र्याक आयोजनाको ट्रयाक खोल्ने काम करिब करिब सकियो। यो बनाउन सरकारी-निजी-साझेदारीमा निर्माण-सञ्चालन-हस्तान्तरण पद्धति लागू गरिनेछ। अर्थात् निजी कम्पनीले यसलाई बनाउनेछ। निश्चित अवधिसम्म सञ्चालन गर्नेछ। त्यसअवधिमा गुड्ने गाडीहरुबाट शुल्क उठाउनेछ र निश्चित अवधि सकिएपछि सरकारलाई हस्तान्तरण गर्नेछ।

• मध्यपहाडी लोकमार्गको कूल १७७६ किलोमिटर ट्रयाक खोल्ने काम सकिएको छ। यो वर्ष बाग्लुङ-बुर्तिवाङ, जोरसाल-मझिमटार, घुर्मी-खुर्कोट, हलेसी-दिक्तेल, हिले-लेगुवाघाट-भोजपुर र गणेशचोक-चियोभञ्ज्याङ खण्ड कालोपत्रे हुनेछन्।

• गत वर्ष मनाङ केन्द्रीय सडक सञ्जालसँग जोडिएपछि अब सदरमुकाम जोडिन बाँकी डोल्पा र हुम्ला जिल्ला मात्र रहेका छन्। ती जिल्लामा यही वर्ष मोटरबाटो पुर्‍याउने लक्ष्य राखिएको छ।

• काठमाडौँको लाइफलाइन मानिएको त्रिभुवन राजपथको नागढुंगा नौबिसे खण्डमा सुरुङ मार्ग बनाएर सीतापाइलाबाट बाटो निकाल्ने बारे सम्भाव्यता अध्ययन यो वर्ष गरिनेछ।

• रानी-इटहरी-धरान, वीरगञ्ज-पथलैया र बेलहिया-बुटवल सडक खण्ड छ लेनमा विस्तार हुँदैछ।

• काठमाडौँको चक्रपथमा कलंकी-कोटेश्वर खण्ड ८ लेनको बनाउने काम अर्को महिना सुरु हुँदैछ। यहाँ बल्खुबाट स्वयम्भूतिर जाने छोटो बाटो जमिनमुनिबाट बनाउने तयारी छ।

मेलम्ची आयोजना २०७२ मा सकिने

चाइनिज कम्पनी चाइना रेलवे कन्स्ट्रक्सनले धोका दिएपछि अलपत्र परेको मेलम्ची खानेपानी आयोजनाको मुहान र सुरुङ बनाउने कामका लागि इटालीको को–अपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी) सँग सोमबार सम्झौतामा हस्ताक्षर भएको छ। २७ किलोमिटर सुरुङ खन्नुपर्नेमा चार किलोमिटर मात्रै खनेर टाइममै सकाउने भए थप चार अर्ब चाहिने चाइनिज कम्पनीले बताएपछि सरकारले ठेक्का रद्द गरेको थियो। उसले सम्झौता अनुसार काम गरेको भए यही वर्षको सेप्टेम्बरभित्र काम सकिसक्थ्यो। ठेक्का रद्द भएपछि १० महिना यत्तिकै भयो। पोहोर डिसेम्बरमा नयाँ टेन्डर आह्वान गर्दा चीन, जापान र इटालीका कम्पनीहरूले टेन्डर हालेका थिए। त्यसमध्ये ७ अर्ब ७२ करोड ३४ लाख रुपियाँको प्रस्ताव गर्ने इटालीको कम्पनीसित हिजो सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा ३६ महिनामा काम सकाउने भनिएको छ।

जलविद्युत

• देशभित्रैको स्रोतबाट बनाउन थालिएको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना निर्माण कार्य भइरहेको छ। यो वर्ष थप २ अर्ब बजेट पाएको छ यो आयोजनाले।

• नेपालको दोस्रो ठूलो जलाशययुक्त जलविद्युत आयोजना तनहुँ जलविद्युत आयोजना (१४० मेगावाट) को निर्माण यो वर्ष सुरु हुनेछ। एक अर्ब ५ करोड बजेट छुट्याइएको छ यसका लागि।

• ६० मेगावाटको त्रिशुली तेस्रो ए, ४२ मेगावाटको माथिल्लो मोदी, ३२ मेगावाटको राहुघाट, ३० मेगावाटको चमेलियागाड, १४ मेगावाटको कुलेखानी तेस्रो अहिले बन्ने क्रममा छ। ८७ मेगावाटको तामाकोशी पाँचौँ र २० मेगावाटको अछामको बूढीगंगा जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार हुँदैछ। यही वर्ष निर्माण कार्य सुरु गर्ने भनिएको छ।

• ६०० मेगावाटको बूढीगण्डकी, ५३० मेगावाटको तमोर, ४०० मेगावाटको नलसिंगाड, ३०० मेगावाटको दूधकोशी र ३०० मेगावाटको उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत डिजाइन र वातावरणीय अध्ययन यो वर्ष हुनेछ।

• ३३५ मेगावाटको माथिल्लो अरुण र ४० मेगावाटको त्रिशुली बी जलविद्युत आयोजनाहरुबो सम्भाव्यता अध्ययन यो वर्ष सुरु हुनेछ।

विविध

• व्यवस्थित, योजनावद्ध सहर नै भएनन् नेपालमा। त्यसैले मध्य पहाडी लोकमार्गमा पर्ने फिदिम, वसन्तपुर, खुर्कोट, गल्छी बैरेनी, डु्म्रे भन्सार, बुर्तिवाङ, चौरजहारी, राकम कर्णाली, साँफेवगर, वैतडी पाटन गरी दस स्थानमा नमूना सहर विकास कार्यक्रम अहिले सञ्चालन भइरहेको छ। यो वर्ष आठ सहरी कोरिडोर विकासका लागि बजेट छुट्याइएको छ।

• दोलखामा अन्तर्राष्ट्रिय स्तरको फिल्मसिटी बन्दैछ।

आर्थिक अध्यादेशले यस्तो व्यवस्था गरेको छ –
Untitled-1
• सडक, पुल, विमानस्थल, सुरुङ मार्ग
निर्माण र सञ्चालन गरेमा वा ट्राम, ट्रलीबसमा लगानी
गरी सञ्चालन गरेमा सोबाट प्राप्त आयमा लाग्ने करको
दरमा चालीस प्रतिशतले छूट हुनेछ।

• राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा
सहुलियत : राष्ट्रिय महत्वका जलविद्युत आयोजना,
अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगतमार्ग तथा
सडकमार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास
आयोजना तथा तीन सयजनाभन्दा बढी स्वदेशी
कामदारलाई रोजगारी दिने र पचास प्रतिशतभन्दा
बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने
उत्पादनशील उद्योग (चुरोट, मदिरा र वियर
उद्योग बाहेक) मा सम्वत् २०७५ साल चैत
मसान्तसम्म गरेको लगानीको आयस्रोत खोजिने
छैन।  cp. mysansar.com

कमेन्टहरु
Loading...