बाघमारामा खुल्ला भलिवल तथा तिजगीत प्रतियोगिता

पोखरा, ७ भदौ / हरितालिका तिजका अवसरमा पोखरालेखनाथ महानगरपालिका वडा नं ३३ मा कृयाशिल बाघमारा युवा संगम समूह तथा अनुशासित आमा समूहको आयोजनामा तीन दिने खुल्ला भलिवल एवम् तिज गीत प्रतियोगिता आयोजना गरिएको छ ।

मंगलबारदेखि जारी भलिवल प्रतियोगिता अन्तर्गत विभिन्न १२ वटा समूह सहभागी भएको र भोलि हुने तिज गीत प्रतियोगिताका लागि आजसम्म नौवटा समूहले नाम दर्ता गरिसकेको बाघमारा युवा संगम समूहका अध्यक्ष एवम् प्रतियोगिता संयोजक प्रमोद आचार्यले जानकारी दिए ।आजको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले खेल विधा मानवीय स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए ।

उनले चाडपर्वका अवसर पारी यस्ता प्रतिया्ेगिता आयोजना गरिनुले हाम्रा प्राचीन संस्कृतिको जगेर्ना तथा विकास हुने धारणा राखे । रासस पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका उपप्रमुख वासुदेव पौडेलले खेलकुदले युवाहरूमा जागरुकता ल्याउने र त्यसले अनुशासन समेत कायम गराउने बताए । नेपाली काँग्रेस पोखरालेखनाथ वडा नं ३३ का सह संयोजक सरोजराज अधिकारीले खेलकुदले एकता र अनुशासनको सन्देश दिने उल्लेख गरे । नेकपा माओवादी केन्द्र, पोखरा लेखनाथ ३३ का अध्यक्ष मदनप्रसाद अधिकारीले महानगरपालिकाले खेलकुदका लागि जग्गा उपलब्ध गराउनुपर्ने बताए ।

चिरगादी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष विशेश्वर हरामीले युवालाई लक्षित गरी प्रतियोगिता आयोजना गरिनु प्रशंसायोग्य भएको बताउँदै यस्ता प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए । समूहका सदस्य एवम् शिक्षाप्रेमी बाबुराज आचार्यद्वारा सञ्चालित कार्यक्रममा प्रतियोगिताका सह संयोजक श्रीधर पौडेलले स्वागत गरेका थिए भने भलिवलका राष्ट्रिय खेलाडी बलबहादुर श्रेष्ठ, सरस्वती टिका मा.वि. व्यवस्थापन समितिका अध्यक्ष रिषीराज आचार्य लगायतको सहभागिता थियो ।

कमेन्टहरु
Loading...