खानेपानी महसुल झण्डै दोब्बर, ट्याक्सी भाडा १६ प्रतिशत बढ्यो

१ साउन, काठमाण्डौ । अब धारामा पानी नआएपनि काठमाण्डौ उपत्यकाका उपभोक्ताहरुले भारी महसुल बुझाउनुपर्ने भएको छ । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)ले प्रस्ताव गरेको दरमा केही परिवर्तन गर्दै खानेपानी महसुल निर्धारण आयोगले धारा र ट्याङकरमा ढुवानी गरिने पानीको महसुल बृद्धि गरेको छ ।

आयोगको मासिक न्यूनतम ४५ देखि ८२ प्रतिशतसम्म शुल्क बढाउन सिफारिस गरेको छ । बढाएको महसुल भदौ महिनाबाट लागू हुने आयोगका अध्यक्ष हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

water-and-taxiआयोगले सोमबार एक सूचना जारी गर्दै नयाँ महसुल लागू गर्न केयुकेएललाई सिफारिस गरेको छ । नयाँ मापदण्डअनुसार अब मासिक न्यूनतम १० हजार लिटरसम्म पानी उपभोग गर्ने घरले १ सय ५० रुपैयाँ महसुल तिर्नुपर्ने छ । यसअघि सो महसुल ७७ रुपैयाँ ५० पैसा थियो ।

नयाँ महसुलसँगै आयोगले केयुकेएललाई खानेपानी आपूर्ति ब्यबस्था सुधार गर्न निर्देशनसमेत दिएको छ । पाँच बर्षको बिचमा केयुकेएलले दोस्रोपटक पानीको महसुल बढाउन लागेको हो । धारामा पानी नआएपनि काठमाण्डौका उपभोक्ता पानीको न्यूनतम महसुल तिर्न बाध्य छन् ।

ट्याक्सी भाडा १६ प्रतिशत बढ्यो

यसैवीच सरकारले मिटर ट्याक्सीको भाडा १५ दशमलव ६ प्रतिशत बढाएको छ । ट्याक्सी चढ्नासाथ लाग्ने १० रुपैयाँ आधार मूल्य नबढे पनि प्रति किलोमिटर ३२ रुपैयाँबाट बढाएर ३७ रुपैयाँ पुर्‍याइएको छ । बृद्धि गरिएको भाडादर आजैदेखि लागू हुने यातायात ब्यबस्था बिभागले जनाएको छ ।

बिभागले महंगी, पेट्रोलको मूल्यबृद्धि र चालकको ज्यालाबृद्धिलाई आधार मानेर भाडा बढाएको जनाएको छ ।

सरकारले जति भाडा बढाए पनि सडकमा कुद्ने ट्याक्सी भने हत्तपत्त मिटरमा चल्न मान्दैनन् । भाडा बढेपछि मिटरमै ट्याक्सी चल्न प्रोत्साहन हुने बिभागको दावी छ ।

 

कमेन्टहरु
Loading...