१ सय ८ किलोमिटर रेलमार्ग बनाउने सरकारी घोषणा

३१ असार, काठमाडौं । नेपाल सरकारले आइतबार सार्वजनिक गरेको बजेट भाषणमा विभिन्न १५ वटा आयोजनाहरुलाई ‘राष्ट्रिय गौरबका आयोजना’अन्तरगत राखेको छ । पहिल्यै घोषणा भएका आयोजनाहरुमा सरकारले दुर्इवटा आयोजाना थप गरेको छ ।

सरकारबाट घोषणा गरिएका राष्ट्रिय गौरबका आयोजनाहरुमा पशुपति क्षेत्र विकास कोष, लुम्बिनी क्षेत्र विकास, राष्ट्रपति चुरे संरक्षण, भेरी-बबई डाइभर्सन आयोजना र ४ सय ५६ मेघावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना रहेका छन् । त्यसैगरी काठमाडौं तराई-मधेस फास्ट ट्रयाक, मध्यपहाडी लोकमार्ग, तराई-मधेसको हुलाकी राजमार्ग, पूर्व-पश्चिम रेलमार्ग, गौतम बुद्ध विमानस्थल र पोखरा विमानस्थल पनि राष्ट्रिय गौरबका आयोजना अन्तरगत परेका छन् । त्यस्तै निजगढ अन्तरराष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना रानीजमरा- कुलरिया सिंचाइ आयोजना र सिक्टा सिंचाई आयोजना पनि राष्ट्रिय गौरवका आयोजना हुन् ।

मध्यपहाडी लोकमार्गको १७ सय ७६ किलोमिटर ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । यसअन्तरगत बाग्लुङ- बुर्तिबाङ, जोरसाल-मझिमटार, घुर्मी खुर्कोट, हलेसी दिक्तेल, हिले-लेगुवाघाट-भोजपुर र गणेशचोक- चियोभञ्ज्याङ सडक खण्डमा कालोपत्रे गर्ने सरकारको कार्यक्रम छ । कोशी, कालीगण्डकी र कर्णाली कोरिडोर हुँदै उत्तर दक्षिण जोड्ने कोरिडोरको ट्रयाक खोलनका लागि पनि सरकारले बजेट छुट्याएको छ ।

तराईको हुलाकी लोकमार्गमा १ सय ५० वटा पुलहरु निर्माण गर्नुपर्नेमा हाल १७ वटामात्रै बनेका छन् । आगामी आर्थिक वर्षमा थप २० वटा पुल सहित ३७ वटा पुल बनाउने सरकारी कार्यक्रम छ ।सरकारले यसवर्ष बर्दिबास- सिमरा खण्डमा १ सय ८ किमी लामो रेलमार्ग बनाउने बताएको छ । सिमरा बुटवल खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार पारिने भएको छ ।

त्यसैगरी काठमाडौं उपत्यकाका लागि मेलम्ची खानेपानी आयोजनाको सुरुङ र पानी प्रशोधनको नयाँ ठेक्का सम्झौता भइसकेको र थप कार्यका सरकारले लागि ५ अर्ब २४ करोड बजेट छुट्याएको छ ।यी आयोजनाहरुका प्रमखसँग सरकारले कार्यसम्पादन सम्झौता गरेर काम अगाडि बढाउने र स्तरीयताका लागि राष्ट्रिय सतर्कता केन्द्रबाट प्राविधिक परीक्षण गराउने सरकारको योजना छ ।

सरकारले प्राथमिकतामा राखेका राष्ट्रिय गौरबका १५ आयोजनाहरु यस्ता छन् :

rrr

 

कमेन्टहरु
Loading...