दुईदिन देखि युवक बेपत्ता, खोजीदिन परिवारको आग्रह

पोखरा, १२ साउन /तनहुँमा एक स्कुले युवक दुईदिन देखि बेपत्ता भएका छन् । स्कुल जान निस्केका ब्यास ११ तनहुँका १५ बर्षिय सुसन अधिकारी बुधबारदेखि बेपत्ता भएका हुन् । स्कुलकै ड्रेसमा स्कुलको झोला बोकेर निस्किएका अधिकारी साँझ घर नफर्किएपछि खोजी सुरु गरेका हुन् ।

उनका साथी र आफन्त कसैकोमा पनि नभेटिएपछि अधिकारी परिवारले खोजिदिन आग्रह गरेका छन् । घरमा आँफुलाई नखोज्न चिठी लेखेर छोडेको सुसनकी दिदि श्रृष्टी अधिकारीले बताईन् । स्थानीय सत्यावती उच्च माविको कक्षा १० मा अध्ययनरत सुसन पहिलेदेखि नै कक्षामा नियमित नजाने विद्यालय प्रशासनले जनाएको छ । बुधबार पनि बिद्यालय नगएपछि परिवारले स्कुल जान सुझाएका थिए ।

सुसनलाई खोजिदिन परिवारले प्रहरीमा समेत निवेदन दिएका छन् । सुसनसँग केही पैसा भएकाले टाढै गएको हुनसक्ने परिवारको आशंका छ । ‘हामीले सबैतिर फोन गरेर बुझिसक्यौं । पहिले गैरहने ठाउँमा गएको छैन, उनकी दिदि श्रृष्टीले भनिन्–घरमा पनि खासै नराम्रो भएको होईन । स्कुल किन नगएको भनेर सोधेका थियौं, भोलिपल्ट घरमै आएन ।’

पछि खोजतलास गर्दा सुसनले थप लुगाफाटा र केही पैसा समेत लिएर निस्किएका बुबा गणेश अधिकारीले बताए । अघिल्लो दिन पनि बिद्यालय हापेर साथीको घरमा बसेका उनको भनाई छ ।

कमेन्टहरु
Loading...