साउन दोस्रो सोमबार केदारेश्वरमा भक्तजनको घुइँचो

पोखरा, ९ साउन/‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि सेवाश्रम समिति पोखराले साउनमा आयोजना गरेको बोलबम कार्यक्रममा हजारौं श्रद्धालु भक्तजन सहभागी हुने गरेका छन् । साउन दोस्रो सोमबार पनि केदारेश्वर मन्दिरमा जल चढाउन कास्कीसहित छिमेकी जिल्लाबाट भक्तजन मन्दिर आएका थिए ।

गेरुबस्त्र धारण गरेका ¥यालीका सहभागीले भगवान शिवको महिमासम्बन्धी भजनकीर्तन र नाचगान गरी रमाइलो गरेका थिए । गर्मीको कुनै परवाह नगरी शुक्लागण्डकीबाट जल लिई हजारौ भक्तजनहरु पैदलयात्रासहित ¥यालीमा निस्किएको बोलबम संयोजक शंकर खरालले जनाए । शोभायात्रामा भक्तजन सडकमा भजनकीर्तन गर्दै नाचगान गरी मन्दिर पुगेका थिए ।

केदारेश्वर मन्दिरमा भगवान शिवको आराधना गर्न चारवटै द्वारमा बिहानैदेखि खुला गरिए पनि दिउँसो अबेरसम्म उनीहरु लाइनमै बसेका थिए । बोलबम समितिले बगरस्थित गाईघाटबाट सेतीनदीको जल लिएर केदारेश्वर मन्दिरमा चढाउने कार्यलाई झण्डै डेढ दशकदेखि व्यवस्थापन गर्दैआएको छ । अघिल्लो सोमबारझै यसपालि पनि गाइघाटदेखि पञ्चेबाजा, झाँकी र भजनकीर्तनसहित बोलबम ¥याली निकालिएको थियो । विद्यार्थीहरु स्कुल तथा कलेज ड्रेसमै जल लिएर लाइनमा बसेको पाइन्थ्यो भने कतिपय विदेशी पर्यटकले रमाइलो मानेर हेरेका थिए ।

भक्तजनलाई यसपटक कवाडी व्यवसायी संघ कास्कीले प्रसादको व्यवस्था गरेको थियो । भक्तजनले शुक्लागण्डकीमा १०८ धारामा स्नान गरी ८ किलोमिटर पैदलयात्रासहित बैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण गर्दै मनोकांक्षा ब्यक्त गरे । आठ संयोगलाई धार्मिक कार्यमा निकै शुभ मानिन्छ । साउन भगवान शिवको महिमा मानिने हुँदा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल उठाएर शिवलिङ्गमा चढाउने चलन छ । यसपालि साउनमा ५ सोमबार परेको छ । पाँच सोमबार पर्नुलाई शुभ र पवित्र मानिन्छ ।

कमेन्टहरु
Loading...