लागूऔषध नियन्त्रणमा प्रहरीले विभिन्न संघ–संस्थासँग सहकार्य गर्ने

पोखरा, ३० असार/प्रहरी उपरिक्षक केदार रिजालले पोखरा र यस आसपासमा मौलाएको लागूऔषध नियन्त्रणका लागि विभिन्न सरकारी र गैर सरकारी संघ–संस्थाहरुसँग सहकार्य गर्ने बताउनुभएको छ । लागूपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुह कास्कीको नवौं साधारण सभामा बोल्नुहुँदै उहाँले यस क्षेत्रमा कार्यरत संस्थाहरुसँग सहकार्य नगरे प्रहरी मात्रै सफल नहुने बताउनुभयो । 

प्रहरीको तथ्यांकमा कूल लागूऔषध प्रयोगकर्ता मध्य ७३ प्रतिशत १६ देखि ३० वर्ष उमेर समुहका रहेकाले यो उमेर समुहलाई बढि जोड दिनुपर्ने समेत उहाँले बताउनुभयो । संघ–संस्थाहरुले विभिन्न बाहिरी जिल्लाहरुमा गई कार्यक्रम गरिरहेको बारे बोल्नुहुँदै उहाँले पहिला स्थानीय स्तरमा लागूऔषध नियन्त्रणलाई प्रभावकारी बनाउन सके बाहिरी जिल्लाहरुमा जान सजिलो हुने बताउनुभयो ।

आफ्नो उपस्थिति भएको पाँच महिनामा नै पोखरामा जलकुम्भि अभियान लगायतका कार्यक्रम सञ्चालन गरि सफल भएकाले अझ अरु कार्यक्रमका लागि आफू अग्रसर हुने समेत उहाँले उल्लेख गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि एवं पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रीविनोद प्रतिकले सरकारले गर्नुपर्ने लागूऔषध नियन्त्रणको काम स्थानीय आमाहरुले नै गरिदिएकाले यो निकै सराहनीय रहेको उल्लेख गर्नुभयो ।

प्रहरी र सम्बन्धित क्षेत्रमा कार्यरत संघ–संस्थाहरुको सहकार्य बिना लागूऔषध नियन्त्रण सजिलो नहुने उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ल समन्वय समिति कास्कीका अध्यक्ष लालबहादुर श्रेष्ठ, एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष विश्वमोहन गौचन, सामुदायिक सेवा केन्द्र बगरका उपाध्यक्ष ध्रुव पराजुली, शिक्षाविद पद्म गुरुङ लगायतले बोल्नुभएको थियो ।

सो अवसरमा आमा समुहको पहलमा लागूऔषध छुटाई साधारण जीवनमा फर्किएका संजय गुरुङ, पल्सर लोकप्रिय वर्ष खेलाडी बन्न सफल झरना गुरुङ तथा आमा समुहलाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने दाताहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । समुहकी अध्यक्ष शान्तदेवी गुरुङको अध्यक्षतामा भएको नवौं साधारणसभाको उद्घाटनसत्रमा सचिव विष्णु गुरुङले वार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष प्रभा पन्तले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...