बाढीपीडितलाई राहत प्रदान

पोखरा १ साउन/सिद्धार्थ टोल विकास संस्थाले नमूना महिला समूहको सहयोगमा पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४, टुँडाको पाटनका १३ घर बाढीपीडितलाई राहत प्रदान गरेको छ । राहत सामाग्रीमा व्लाङ्केट, खाद्यान्न सामाग्री रहेका छन् । खाद्यान्न सामाग्री विशेषगरि श्रावण संक्रान्तिका लागि उपयोगी छन् ।

अघिल्लो साता परेको अविरल वर्षाका कारण फिर्के खोलामा आएको बाढीले टुँडाको पाटनका स्थानीयवासीको घरमा क्षति, घरमा रहेका सबै खाद्यान्न, भाँडावर्तन र लत्ताकपडा बगाएको थियो । त्यहाँ रहेका बाढी पीडित १३ घरपरिवारमध्ये केही विभिन्न संघसंस्थाको कार्यालय र केही आफन्तको शरणमा रहँदै आएका छन् । उनीहरुका लागि विभिन्न संघ–संस्थाले सहयोग गर्दै आएका छन् । यसैक्रममा सिद्धार्थ टोल विकास संस्थाले पनि राहत प्रदान गरेको हो ।

संस्थाले आइतबार आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरि राहत प्रदान गरेको हो । संस्थाकी अध्यक्ष गोमा कोइराला सुवेदी, निवर्तमान अध्यक्ष पार्वती माकाजू, समाजसेवी एवं सल्लाहकार मदनकाजी श्रेष्ठ, शम्भु प्रसाद कोइराला, भीमबहादुर श्रेष्ठ, नमूना महिला समूही अध्यक्ष ज्योती कोइराला लगायतले वाढी पीडितलाई राहत प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष सुवेदीले साउने संक्रान्तिको दिन बिहान आफूले तयारी गरिरहँदा बाढीपीडितको अवस्था सम्झिएको र बाढीपीडितले पनि संक्रान्ति मनाउन पाउन् भन्ने उद्देश्यले केही समयमा नै सबैसंग पहल गरेर राहत प्रदान गरिएको बताइन ।

कमेन्टहरु
Loading...