संरक्षणका लागि चेतना नेपालद्वारा फिल्टर वितरण

पोखरा, १६ असार/संरक्षणका लागि चेतना नेपालले उत्पीडित तथा विपन्न परिवारलाई शुक्रबार निःशुल्क फिल्टर वितरण गरेको छ । पोखरा ७ का ३० घर परिवारलाई संस्थाले ३० थान फिल्टर वितरण गरेको संस्थाका सचिव भीम कार्कीले जानकारी दिए ।

पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले स्वस्थ्य, खुसी र समृद्धि नेपाल निर्माणका लागि यस्ता अभियान अघि बढेको बताए । उनले आफू स्वास्थ्यमन्त्री भएको बेलादेखि नै जनताको स्वास्थ्यप्रति निःशुल्क स्वास्थ्य उपचार र निःशुल्क औषधी वितरणको अभियान सुरु गरिएको बताए । उनले फिल्टर वितरण नमूना काम भएको उल्लेख गर्दै यो पर्याप्त नभए पनि स्वाथ्यप्रति सचेतना बढाउन संस्थाले देखाएको भूमिका सह्राहनीय रहेको बताए ।

संस्थाका अध्यक्ष सृजना शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका बोर्ड सदस्य ओम गौचन, पोखरा ७ का वडा अध्यक्ष रामजी बराल, एमालेका वडा अध्यक्ष पुरुषोत्तम रेग्मी, राष्ट्रबैंक टोल विकास संस्थाका अध्यक्ष भगवती शर्मा, सामाजिक अभियन्ता हिरा कुमारी गिरीलगायत बोलेका थिए ।

कार्यक्रममा स्वास्थ्यकर्मी बिलकुमारी कुमालले पानीको महत्व र स्वास्थ्य शिक्षाका बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य इन्द्रप्रसाद पौडेलले गरेका थिए भने संचालन सचिव भीम कार्कीले गरेका थिए ।

कमेन्टहरु
Loading...