शिक्षिकाले विद्यालयकै शिक्षकले कुमारीत्व लुटेको उजुरी गरेपछि पढाइ ठप्प

सोलुखुम्बु, भाद्र २८ – जनकल्याण उच्चमावि जुवु सोलुखुम्बुमा कार्यरत एक शिक्षिकाले सोही विद्यालयमा कार्यरत एक शिक्षकले आफ्नो कुमारीत्व लुटेको आरोप लगाएपछि विद्यार्थीले विद्यालयमा पठनपाठन ठप्प पारेका छन् ।

शिक्षिका रञ्जिता बनले आफूलाई विवाह गर्ने प्रलोभन देखाएर शिक्षक कुमार बस्नेतले यौनसम्पर्क राखेको र अहिले विवाह गर्न नमानेको भन्दै विद्यालय प्रशासनमा उजुरी गरेपछि दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीले पठनपाठन अवरुद्ध गराएका हुन् ।

घटना सार्वजनिक भएपछि गत सोमबारदेखि नै विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ । विद्यालयमा अविभावक, शिक्षक, विद्यार्थी, प्रहरी र दुवै आरोपीसहितको छलफल भए पनि कुरा नमिलेपछि थप अनुसन्धानका लागि शिक्षक शिक्षिका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सल्लेरी ल्याइएको छ ।

शिक्षक बस्नेतले भने आफूले बनमाथि कुनै अनैतिक क्रियाकलाप नगरेको दाबी गरेका छन् । उनले आफूलाई फसाउने नियतले यस्तो आरोप लगाएको भन्दै खण्डनसमेत गरेका छन् । शिक्षक÷शिक्षिका दुवैलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालय ल्याइपुर्‍याएको र थप अनुसन्धानपछि मात्र यथार्थ थाहा हुने प्रहरीनायब उपरीक्षक रमेशकुमार खड्काले बताए ।

विद्यालयको पठनपाठनमा थप समस्या नहोस् भनेर उनीहरूलाई सदरमुकाम झिकाइएको प्रहरीको भनाइ रहे पनि विद्यार्थी भने घटनाको सत्यतथ्य छानबिन भएर दोषीलाई कारबाही नभएसम्म विद्यालयमा पठनपाठन हुन नदिने अडानमा छन् । रासस

कमेन्टहरु
Loading...