देव गुरुङले बोलाएको बैठक ३२ दलद्वारा अस्वीकार

२६ असार, काठमाडौं । नेकपा माओवादीका सचिव देव गुरुङले बुधबार बोलाएको संयुक्त बैठक ३२ दलले बहिस्कार गरेका छन् । माओवादीसँग आफूहरुको दूरी बढेका कारण मोहन वैद्य चीनबाट फर्केपछि शीर्ष बैठक बस्नुपर्ने ३२ दलको माग छ ।

dev-gurungमाओवादी सचिव गुरुङले टेलिफोन र एसएमएस गरेर अन्य ३२ दलका नेतालाई बुधबार दिउँसो २ बजे बुद्धनगरस्थित माओवादी कार्यालयमा बैठकका लागि निम्तो दिनुभएको थियो । तर, बैठकमा ३२ दलका तर्फबाट प्रकाश अधिकारी एकजनामात्रै दूतका रुपमा उपस्थित भई वैद्य चीनबाट नर्फकेसम्म गुरुङले बोलाएको बैठकमा कोही पनि नआउने जनाकारी गराएको स्रोतले अनलाइनखबरलाई बतायो ।

बैठकमा ३२ दल आउने आशमा माओवादी नेता देव गुरुङ, हरिभक्त कँडेल र हितमान शाक्य पर्खेर बसे पनि ३२ दलले अधिकारीलाई मात्रै खबरबाहकका रुपमा पठाएका थिए । ‘३३ दलमा दूरी बढेको छ, अब गुरुङले बोलाएको बैठकमा गैरहनुको औचित्य छैन ।’-स्रोतले भन्यो ।

पोखरा बैठकपछि माओवादीले रेग्मी सरकारसँग वार्ता गर्न सकिने भन्दै वाताृ टोलीसमेत गठन गरेपछि वैद्य माओवादीआवद्ध ३३ दलभित्र विवाद बढेको छ । ३३ दलमध्येका केही दलले वार्ता टोली गठनप्रति असहमति जनाउँदै रेग्मी सरकारसँग सम्झौताहीन आन्दोलनमा जानुपर्नेमा जोड दिँदै आएका छन् ।

कमेन्टहरु
Loading...