खुर्सिदले भने, ‘सबै मलाई भेट्न आफैं आएका हुन्, बोलाएको होइन’

युवराज घिमिरे काठमाडौं, असार २६/भारतीय विदेशमन्त्री सलमान खुर्सिदले सबैको सहभागितामा संविधानसभा चुनाव हुन नसके जनताको अभिमत व्यक्त हुने परिस्थिति निर्माण गर्न निर्वाचन पक्षीय दलका नेतासँग आग्रह गरेका छन् । करिब नौ घन्टा लामो नेपाल यात्रामा राष्ट्रपति रामवरण यादव र सरकार प्रमुख खिलराज रेग्मी, नेपाली कांग्रेस, एमाले, एमाओवादी नेताहरूसँग अलगअलग तथा उपेन्द्र यादवलगायत मधेसी दलहरूसँग समूहगत रूपमा भेटघाट गरेपछि उनी चुनाव निर्धारत मितिमा नै हुनेमा विश्वस्त भई मंगलबार नै स्वदेश फर्केका हुन् ।

resize_imageफर्कनुअघि पत्रकारहरूसँग कुराकानीमा खुर्सिदले भने, ‘संविधानसभाको दोस्रो निर्वाचन एउटा ‘युनिक’ र विषेश खालको प्रक्रिया हो, सबै राम्रा कुराहरू टुङ्गिन समय लाग्ने गर्दछ, राम्रो वाइन बन्न धेरै लामो समय लागे जसरी ।’

नेपाल भ्रमण आफू विदेश मन्त्री भएयता प्राथमिकतामा रहे पनि मंसिर ४ मा निर्वाचन हुनेगरी मिति घोषणा गरिएपछि मात्र भ्रमणका लागि अनुकूल वातावरण बनेको उनले बताए । उनको भ्रमण छोटो भए पनि दुईतर्फका राजनीतिज्ञसँग वार्ता जारी रहनुपर्ने अभिव्यक्ति पनि उनले दिए ।

यात्राका क्रममा जारी गरिएका ‘तथ्य विवरण’मा निर्वाचनका लागि आवश्यक सबै सहयोग दिन भारत तयार रहेको र यसै क्रममा निर्वाचन आयोग र गृहमन्त्रालयलाई ७ सय ६४ थान गाडीहरू दिने भारतीय प्रतिबद्धता पनि उल्लेख छ ।

चुनाव बहिष्कारको घोषणा गरेको नेकपा–माओवादी र संवैधानिक राजतन्त्र तथा हिन्दु नेपालको पक्षधर राप्रपा नेपाललाई भने उनीसँग भेटघाटका लागि बोलाइएन ।

दुई दिनको लागि भनी पहिले नै प्रचारित यात्रा अचानक किन ९ घन्टामा छोटियो, आधिकारिक रूपमा केही भनिएको छैन । यात्राको एक दिनअघि सर्वोच्च अदालतले केही दिनअघि नेपाल र भारतको गृहसचिवस्तरीय बैठकमा पशुपतिनगर र कपिलवस्तुमा भारतीय अध्यागमन ‘चेक प्वाइन्ट’ खोल्ने र भारतीय सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन विस्तारित र अध्यावधि गर्न भएको सैद्धान्तिक सहमति कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

खुर्सिद आफूले नेपालमा पाएको भव्य स्वागतका लागि आभारी थिए आतिथेय मुलुकप्रति । ‘मैले राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्रीसँग भेट्नुका साथै पूर्वप्रधानमन्त्रीसँग लामो छलफल गर्ने अवसर पाएँ ।’

एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल त बिरामी पत्नी सीताको औषधोपचारलाई छोट्याएर काठमाडौं फर्किएनन् मात्र, विमानस्थल उत्रिएको दुई घन्टामै हस्याङफस्याङ गर्दै दलका अरू आठ सदस्यीय उपल्लो टोली लिएर द्वारिकाज होटल पुगे । ‘वैद्य समूहले पनि वार्ता टोली गठन गरेर चुनावप्रति सकारात्मक रवैया देखाएको छ,’ खुर्सिदसँगको वार्ताको हवाला दिँदै पार्टी विदेश विभाग प्रमुख राम कार्कीले पत्रकारसँग भने ।

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र उपाध्यक्ष सिपी गजुरेल अचानक चीन हान्निए अघिल्लो दिन राति ११ बजे ।

के नेकपा–माओवादीलाई भेटघाटका लागि बोलाइएन ?

खुर्सिदको जवाफ थियो, ‘यहाँ सबै आफ्नै पहलबाट आएका हुन्, निम्तो पाएर हैन ।’

एमाले अध्यक्ष झलनाथ खनालले खुर्सिदसँगको वार्ताको हवाला दिँदै भने, ‘उनीहरू निर्वाचन हुनेमा विश्वस्त छन् ।’ खुर्सिदले सायद नेपालको राजनीति बुझ्ने पाराले सोधे, ‘यति धेरै कम्युनिस्ट पार्टीहरू किन छन् नेपालमा ?’

‘के तपाईहरूले संघीयताबारे वहस गर्नुभएको छ ?’ अनि फेरि सोधे, वैद्य समूहले चुनाव बिथोले तपाईहरू के गर्नु हुन्छ ?’

नेपाली कांग्रेसको बुझाइ पनि खनालको भन्दा फरक थिएन, तथापि कांग्रेस महामन्त्री कृष्ण सिटौलाले अरूले भन्दा बढी नै भारतप्रति आस्था खन्याए । ‘नेपालमा शान्ति र स्थायीत्व भारतले मात्र ल्याउन सक्छ,’ उनले भने ।

पार्टी राजनीतिमा आश्चर्यजनक हिसाबले रामचन्द्र पौडेलका प्रतिद्वन्द्वी र धेरे समयदेखि पाखा परेका गोविन्दराज जोशी पनि भेटघाटमा सामेल थिए । ‘जसरी पनि चुनाव हुनुपर्छ, आवश्यक परे वैद्य समूहलाई पेलेर जानुपर्छ’ भन्ने धारणा रहेको कांग्रेसी सहभागीले सेतोपाटीलाई बताए ।

खुर्सिदले प्रमुख न्यायाधीशलाई निर्वाचन सरकारको नेतृत्व दिलाउनमा घुमाउरो तालले भारतीय भूमिकाको प्रशंसा गरे । निर्वाचनमा आवश्यक सहयोग दिन भारत तयार रहेको तर, जारी विकास र निर्माण कार्यबाहेक महत्वपूर्ण ‘डिलिङ्स्’हरू निर्वाचित सरकारसँग मात्र हुने पनि उनले बताए ।
– See more at: http://setopati.com/raajneeti/2284/#sthash.zKAEZqTP.dpuf

कमेन्टहरु
Loading...