डाटा सेवालाई प्रभावकारी बनाउने टेलिकमको तयारी

नविन अर्याल

२६ असार, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुबीच डाटा सेवामा प्रतिस्पर्धा बढ्दै गइरहेका बेलामा नेपाल टेलिकम आक्रामक योजना ल्याउने तयारीमा छ । टेलिकमले नयाँ एवं आकर्षक योजना ल्याएर डाटा सेवामा आफ्नो उपस्थिती बलियो बनाउने लक्ष्य लिएको छ । इन्टरनेट सेवाको नेटवर्कमा आवश्यक सुधार गरि डाटा सेवा विस्तार गर्दै लैजाने टेलिकमको योजना छ ।

सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई धेरै प्रकारका इन्टरनेट सेवाहरु उपलब्ध गराउँदै आएको छ । टेलिकमका एडिएसएल, इभिडिओ, थ्रीजी डाटा एचएसपीए प्लस, वाईम्याक्स, फाइबर इन्टरनेट, थ्रीजी डाटा एचएसडीपीए, डिएसएल इन्टरनेट, स्काई डाटा, जिपिआरएस, डायल अप इन्टरनेट, Nepal-Telecomeवाईफाई लगाएतका इन्टरनेट सेवाहरु उपलब्ध छन् । सेवा विस्तार गर्दै गएपनि टेलिकमको इन्टरनेट सेवा गुणस्तरीय नभएको आम सर्वसाधरणको चोतर्फी गुनासो बढ्दै गएको छ ।

इन्टरनेट तथा कल सेवालाई गुणस्तरीय बनाउँदै लैजान सुधारका कामहरु अगाडी बढाएको टेलिकमका महाप्रबन्धक अमरनाथ सिंहले बताउनुभयो । सेवामा विविधिकरण गर्दै लगेपनि गुणस्तरमा टेलिकमले ध्यान पुर्‍याउनै सकेको छैन् । गुणस्तर सुधार नगरेसम्म सेवा विस्तार गरेर मात्र इन्टरनेट प्रयोगकर्ता बढ्ने होइन् ।

कम शुल्कमा सेवा दिने

टेलिकमले वाइफाई, फाइबर टु होम लगाएतका सेवाहरु शुरु गर्न लागेको छ । त्यस्तै, मोबाइलबाट चलाइने इन्टरनेट जीपीआरएस, थ्रीजी र इभीडीओ सेवामा ५० पैसा प्रतिमेगाबाइट शुल्क राखेर नयाँ योजना ल्याउने टेलिकमको तयारी छ । पछिल्लो समय नेपालीहरु डाटा सेवामा आकषिर्त हुन थालेपछि टेलिकमले पनि डाटा सेवालाई आक्रमक रुपमा विस्तार गर्ने रणनीति बनाएको छ । डाटा सेवालाई सबै नेपालीको पहुँचमा पुर्‍याउन सेवा विस्तारका साथसाथै शुल्कमा समेत कटौती गर्ने महाप्रबन्धक सिंहले बताउनुभयो ।

यसअघि टेलिकमले जेठ ३ गते डाटा सेवाहरुको शुल्कमा कटौती गरेको थियो । अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको भन्दा टेलिकमको शुल्क कम पनि कम रहेको छ । टेलिकमले अझै पनि आफ्नो सेवाहरुको शुल्कमा भारी कटौती गर्ने अन्तिम तयारीमा छ ।

थ्रीजी सेवालाई गुणस्तरीय बनाउन टेलिकमले काठमाडौं उपत्यकामा बीटीएस टावरहरु जडान गरिरहेको जनाएको छ । दशैंसम्म बीटीएस टावर जडान कार्य सकिसक्ने लक्ष्य राखेको टेलिकमले पुराना बीटीएस टावरलाई नयाँ टावरसँग स्वापिङ गरेपछि थ्रीजी सेवामा सुधार आउने विश्वास लिएको छ । टेलिकमले वाइफाइ हटस्पट सेवालाई पनि देशका विभिन्न स्थानमा पुर्‍याउने भएको छ । त्रिभुवन विमास्थलमा एउटा टावर राखेर सेवा सुरुवात गरेको टेलिकमले देशका विभिन्न ४ सय ९९ सय स्थानमा टावर राखेर हटस्पट सेवा उपलब्ध गराउने बताएको छ ।

पाँच सय स्थानमा हटस्पट सेवा

तत्कालका लागि विमान स्थलमा हटस्पट सेवा निःशुल्क उपलब्ध गराउँदै आएपनि सेवा विस्तार गरेपछि निश्चित शुल्क लगाउने टेलिकमले जानकारी दिएको छ । शुल्क के कति लगाउने भन्ने विषयमा टेलिकमले अझै कुनै निर्णय गरिसकेको छैन् । आफ्नो सेवाप्रति सर्वसाधरणको गुनासो बढ्दै गएपछि टेलिकमले गुनासो सुनुवाई प्रणालीलाई समेत सहज बनाउने भएको छ ।

टेलिकमले एउटै नम्बरमा फोन गरेर हरेक गुनासा राख्न सकिने गरि सेवा शुरु गर्न लागेको बताएको छ । एउटै नम्बर १ सय ९८ बाट सबै गुनासा सुनुवाई गर्ने र सुझाव दिने टेलिकमले बतायो । अहिले फरक फरक गुनासा राख्न फरक फरक नम्बरमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

कस्तो प्रयोगमा कुन सेवा ?

टेलिकमले पारिवारीक प्रयोगका लागि डायल अप, जिपिआरएस, थ्रीजी, पीडीएसएन/ईभिडियो, एडिएसएल र वाईम्याक्स (यूएसबी डङ्गोल) सेवा उपलब्ध गराएको छ भने व्यवसायीक प्रयोजनका लागि इन्टरनेट लिज कनेक्टीभीटी, एडिएसल, वाईम्याक्स (आईडीयु/ओडीयु) सेवा उपलब्ध गराएको छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...