काठमाडौं, २ असार /सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको खबर सार्वजनीक भएको छ। सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश निषेध गराउने विषयमा छलफल अगाडी बढाएको हो । आजको कारोबारमा शिब बोहराले लेखेका हुन्।
मोटरसाइकलमा प्रतिबन्ध लगाउनुअघि सार्वजनिक सवारी सहज र सर्वसुलभ बनाइने विभागको भनाई छ। सहरी सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउन, प्रदुषण कम गर्न, दुर्घटना न्यूनीकरण गर्न तथा स्वच्छ सहर बनाउन उपत्यकाको चक्रपथभित्र मोटरसाइकल चलाउन रोक लगाउने विषयमा छलफल सुरू गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिए।
‘उपत्यका पुरैमा मोटरसाइकल हटाउँदा ठूलो समस्या हुने भएकाले हामीले चक्रपथ भित्र मात्र रोक लगाउने विषयमा सरोकारवालाहरूसँग छलफल थालेका छौ,’ भट्टराईले भने,‘ यसले सहरको सुन्दरता बढाउनुका साथै प्रदुषण र दुर्घटनासमेत कम गर्न मद्धत मिल्ने अपेक्षा गरिएको छ।’
मोटरसाइकल हटाउने विषयमा आम मानिसमा आवातजावत कसरी गर्ने भन्ने प्रश्न स्वभाविक रूपमा उठ्ने उनी बताउँछन्। ‘मोटरासाइकल हटाउने विषयमा छलफलसँगै सार्वजनिक सवारीलाई सहज र सरल उपलब्धताबारे पनि जोडदार रूपमा एकसाथ अघ बढाउँछौ,’ उनले भने। बागमती अञ्चलमा मात्र करिब ८ लाख मोटरसाइकल दर्ता भइसकेका छन्।