पोखरा, ३० जेठ/हृदयघातका कारण स्वर्गारोहण भएका मोनालिसा होटलका संचालक बिमल शेरचनको जेठ ३१ गते (बुधबार) अन्त्येष्टी गरिने भएको छ । बुधबार बिहान ११ बजे उनकै निवास ड्यामसाइडबाट शव यात्रा सुरु हुने परिवारजनले जनाएको छ ।
शवयात्रापछि बौद्ध अर्घौ सदन रामघाटमा थकाली परम्पराअनुसार स्वर्गीय शेरचनको अन्त्येष्टी गरिने भएको हो ।अन्त्येष्टीको लागि छोरा विजय शेरचन अमेरिकाबाट आउँदैछन् । असार १ मा अन्त्येष्टी गरिने भनिएकोमा लामाको निर्णयअनुसार तिथि हेरी अघिल्लो दिन सारिएको जनाइएको छ ।
हृदयघातका कारण गत आइतबार साँझ काठमाडौंको ग्राण्डी अस्पतालमा ६८ वर्षको उमेरमा उनको निधन भएको थियो । शेरचनको निधनले सिंगो थकाली समुदाय शोकमा डुबेको छ । ड्यामसाइडस्थित उनको निवासमा आफन्त एवं शुभचिन्तकको ठूलो भीड लागेको छ ।
थकाली सेवा समिति पोखराका पूर्व सहसचिव, एड्स रोग नियन्त्रण संघ कास्कीका आजीवन सदस्यसमेत रहेका शेरचनको श्रीमती, एक छोरा र एक छोरी छन् । शालिन, भद्र, स्पष्ट वक्ता, सहयोगी शेरचन विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील थिए । मोनालिसा पोखरामा थकाली खानाका लागि प्रख्यात छ । उनी शेरचन गोत्रका मुख्य (घम्ब) थिए ।