स्वरेकमा बहुउपयोगी भवनको उद्घाटन, भट्टराई सम्मानित

पोखरा,२५ जेष्ठ /स्याङजाको प्रख्यात धार्मिक पर्यटकीय क्षेत्र स्याङजा भैरव कालिका मन्दिर स्वरेकको परिसरमा निर्माण भएको बहुउपयोगी भवनको एक कार्यक्रमका वीच उदघाटन गरिएको छ । भैरव कालिका आमा समुह स्वरेकले निर्माण गरेको भवनको माउण्ट कैलाश रिसोर्ट पोखराका अध्यक्ष एवं समाजसेवी नरेश भट्टराईले विहिबार उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले स्वरेकको पर्यटन प्रवद्र्धनमा भैरव कालिका आमा समुहले खेलेको भुमिका प्रशसनीय रहेको उल्लेख गर्नुभयो । वहाँले आफु पटक–पटक स्वरेक आउने वातावरण सिर्जना गरेको भन्दै आमा समुहप्रति आभार समेत प्रकट गर्नुभयो ।

आइटी इन्जिनियर समाजसेवी चन्द्रबहादुर रोकाहाले भैरव कालिका आमा समुहले आफ्नै मेहनतमा उदारणीय कार्य गरेको बताउनुभयो । आफुले पनि सक्दो सहयोग गर्ने वहाँको भनाई थियो । नमुना स्वरेक सहयोगी समाज स्याङजाका उपाध्यक्ष समाजसेवी यमलाल शर्मा पंगेनीले स्वरेक र पोखरा वीचको सम्बन्धले पर्यटकीय क्षेत्रको रुपमा स्वरेक लाई चिनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

पंगेनीले आमा समुहले मन्दिर परिसरमा निर्माण गरेको भवनले दर्शनार्थीको लागि पनि सहज हुने बताउनुभयो । श्री राजेन्द्र भवानी माविका शिक्षक एवं भैरव कालिका क्षेत्र विकास समितिका उपाध्यक्ष कुलबहादुर खाँणले आमा समुहको सक्रियतामा थोरै थोरै रकम जम्मा गरेर सामुदायिक भवन बनाउन सफल भएको बताउनुभयो ।

रेडियो गण्डकीका स्टेशन म्यानेजर घनश्याम पाण्डेयले स्वरेक प्राकृतिक रुपमा मात्रै नभएर धार्मिक पर्यटकीय दृष्टिकोणबाट पनि सम्भावनायुक्त रहेको धारणा व्यक्त गर्नुभयो । बाइसे चौवीसे राजाको पाला देखिको एतिहासिक कोटको बारेमा प्रचार प्रसारको खाचो रहेको वहाँको भनाई थियो ।

भैरव कालिका आमा समुहकी अध्यक्ष शसि सेनले आफुहरुले मन्दिरमा पुजा वा दर्शनको लागि पुग्ने दर्शनार्थीहरुलाई सहज होस् भनेर भवन निर्माण गरेको बताउनुभयो । रोकाहाले आमा समुहको कामको प्रसंसा गर्दे आमा समुहका अध्यक्ष शसि सेनलाई नगद ५ हजार सहयोग हस्तान्तरण गर्नुभयो । भट्टराईले आमा समुहको भवन निर्माणमा ४० हजार सहयोग गर्नुभएको थियो । भवन ३ लाख ५६ हजारको लागतमा निर्माण सम्पन्न भएको हो ।

भट्टराई सम्मानित
माउण्ट कैलाश रिसोर्टका अध्यक्ष नरेश भट्टराई स्वरेकमा सम्मानित हुनुभएको छ । भट्टराईलाई भैरव कालिका आमा समुहकी अध्यक्ष शसि सेन विशेष अतिथि चन्द्रबहादुर रोकाहा र आमा समुहका सल्लाहकार कुलबहादुर खाँणले संयुक्त रुपमा दोसल्लासंगै सम्मान पत्र अर्पण गरेर सम्मान गर्नुभएको थियो ।

भट्टराईले पोखरा बाट जाँउ है स्वरेक अभिया, भैरव कालिका मन्दिर निर्माण मुर्ति सयहोग, भूकम्प प्रभावितहरुलाई राहात वितरण, शिक्षाको क्षेत्रमा अक्षयकोष निर्माण लगायतका थुप्रै कार्य गर्दै आउनुभएको छ । भट्टराईले देशको विकास हुन गाउँ गाउँको विकास हुनुपर्नेमा जोड दिनुभयो । आफुलाई सम्मान गर्ने आमा समुह प्रति आभार प्रकट गर्दै भट्टराईले एक स्वर बनाएर विकासमा जुट्न सुझाब दिनुभयो ।

कमेन्टहरु
Loading...