रेस्क्यू सेन्टर व्यवस्थापन समिति गठन

पोखरा, २५ असार/तत्काल खोज तथा उद्धारको लागि निर्माणधिन लेक वाच एण्ड रेस्क्यू सेन्टरको रेखदेख तथा संरक्षणको लागि व्यवस्थापन समिति गठन गरिएको छ । पोखरा उपमहानगरपालिका वडा नं.६ को कार्यालयमा फेवाताल सँग सरोकार राख्ने विभिन्न संघ संस्था र समुहहरुको छलफल पश्चात व्यवस्थापन समितिको गठन भएको हो ।

रेस्क्यू सेन्टर रहने वडा नं.६ का वडा अध्यक्षको अध्यक्षतामा गठन भएको व्यवस्थापन समितिमा पर्यटन परिषद, होटल व्यवसायी, रेवान, नाटा, लायन्स, प्यारा ग्लाईडिङ्ग, रोटरी क्लव, स्थानिय रेडक्रसका साथै डुङ्गा व्यावसायी, विभिन्न आमा समूह, स्थानिय यूवा क्लव, सामुदायिक प्रहरी लगायत २१ सदस्यीय व्यवस्थापन समिति गठन गर्दै समितिका सल्लाहाकारमा विभिन्न राजनैतिक पार्टीका वडा स्तरिय प्रमुखहरु साथै नेपाली सेना रत्न मन्दिरका प्रमुख र वडा प्रहरी कार्यालय वैदामका प्रमुखलाई समेत सल्लाहाकारमा राख्ने निर्णय उक्त छलफलले गरेको छ ।

तत्काल उद्धार गर्न सकेमा मानविय क्षति कम हुने भएकोले फेवाताल किनारमै रेस्क्यू निर्माणको लागि कालिका गणको विशेष पहलमा विपद् व्यवस्थापन समिति वडा नं.६ र विभिन्न सरोकार वालाहरुको सक्रियतामा ११ सदस्यीय निर्माण समिति गठन गरी टावर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण समितीले निर्माण कार्य समापन पश्चात व्यवस्थापन समितिलाई हस्तान्तरण गरी यसको संरक्षण तथा संर्वद्धन कार्य अगाडी बढाउने छ ।

छलफल कार्यक्रममा उपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले सकेसम्म तत्काल उद्धार गरी मानविय क्षति हुन नदिने उद्धेश्यले शुरु गरिएको यस कार्यको शुरुवातले केही गरी मृत्यू भईहाले पनि शव डुवी वेपत्ता हुने समस्या हट्न गई आफन्तजनहरुको कल्याण हुने बताएका थिए ।

सोही अवसरमा उपस्थित पर्यटन सँग सम्वन्धीत विभिन्न संघ संस्थाहरुले रेस्क्यू सेन्टरको अवधारणा एवं विशेष पहल गर्ने सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक शम्भु प्रसाद उप्रेतीलाई अविष्मरणीय रुपमा पोख्रेलीको मनमा छाई रहने विश्वाश व्यक्त गर्दै प्रशंसा एवं धन्यवादका साथ भर्खरै कास्की जिल्लाबाट सरुवा भएकोमा खादा ओडाई विदाई गरेका थिए ।

कमेन्टहरु
Loading...