बाबुराम पाँच वर्षपछि फेसबुकमा फर्किए

काठमाडौं—  एमाओवादी पार्टीको उपाध्यक्ष पदबाट राजीनामा दिएका बावुराम भट्टराई पाँच वर्षपछि फेसबुकमा फर्किएका छन्। ट्वीटर अकाउन्ट बनाउने पहिलो नेपाली प्रधानमन्त्री बनेका भट्टराईले सोमबार फेसवुकमा फ्यान पेज खोलेका हुन्। भट्टराईले आफ्नो पहिलो स्ट्याटस लेख्दै मंसिर ४ को संविधानसभाको निर्वाचन टार्ने वा सार्ने प्रयास गरिए त्यसले प्रतिगमनको आधार तयार पार्ने चेताउनी दिएका छन्। उनले वैद्य नेतृत्वको माओवादीलाई इजिप्टको घटनाबाट पाठ सिक्न सुझाव दिएका छन्।
‘वर्तमान नेपालको प्रमुख आवश्यकता देशमा विद्यमान राजनीतिक संक्रमणकालको छिटो अन्त्य गरेर देशलाई तीव्र विकास र सम्वृद्धिको दिशामा अघि बढाउनु हो’, पूर्व प्रधानमन्त्री भट्टराईले लेखेका छन्- ‘त्यसरी मात्र बढ्दो बेरोजगारी र बाध्यात्मक विदेश पलायनलाई अन्त्य गरेर प्रचुर सिर्जनशील युवाशक्तिलाई सम्वृद्ध नयाँ नेपाल निर्माणको महाभियानमा लगाउन सकिनेछ। वर्तमान गतिरोधको निम्ति हामी सवैले आआफ्नो हिस्साको कमीकमजोरी इमान्दारी पूर्वक स्वीकार गरेर समाधानका लागि साझा समझदारी वा नयाँ सम्झौता गर्नैपर्दछ ।
अव पनि एकले अर्कामाथि दोष थुपारेर समय वर्वाद गर्ने हो भने इतिहासले हामी कसैलाई पनि क्षमा गर्नेछैन। मोहन वैद्य समूहका गैर-जिम्मेवार अभिव्यक्ति र गतिविधिलाई वहाना वनाएर आगामी मंसीर ४ को दोश्रो संविधानसभा निर्वाचन सार्ने वा टार्ने कार्य भयो भने त्यसले प्रतिगमनको आधार मात्र तयार गर्नेछ । हालैको इजिप्टको घटनाबाट सवैले पाठ सिक्नैपर्छ ।
ट्विटरबाट सर्वसाधारणसँग प्रत्यक्ष अन्तरक्रिया गर्न फेसबुक अकाउन्ट खोलेको उनका सहयोगी विश्वदिप पाण्डेले बताए। भट्टराईले पाँच वर्षअघि अर्थमन्त्री रहेको बेला पहिलो पटक फेसबुक अकाउन्ट खोलेका थिए। ५ महिना जति चलाएपछि बाबुराम भट्टराईको नाउँमा थुप्रै नक्कली अकाउन्ट आएपछि उनी फेसबुकबाट हटेका थिए। ‘उहाँको अकाउन्ट बारे नै कन्फ्युजन आउने अवस्था आएपछि हामीले अकाउन्ट बन्द गर्नु परेको थियो’, पाण्डेले नागरिकन्युजसँग भने।

ट्विटर बहसमा सहभागी भइरहने भट्टराईका अहिलेसम्म ३३ हजार ९ सय सात फलोअर्स छन्। उनले अहिले सम्म २ सय ८८ टुवीट् गरिसकेका छन्। भर्खरै बनेको उनको फेसवुक पेजमा अहिलेसम्म १ हजार बढीले लाइक गरेका छन्। भट्टराईको नयाँ वेबसाइट डिजाइन भइरहेको उनको सचिवालयले जनाएको छ। cp.nagariknews.com

कमेन्टहरु
Loading...