खुट्टा भाचिएर उपचाररत ईश्वरलाई सहयोगको लागि आग्रह

पोखरा, १७ जेठ/गलकोट नगरपालिका वडा नं. १० ज्याठर निवासी १४ वर्षका इश्वर श्रीसको दाउरा चिर्न जाँदा रुखको मुडाले च्यापेर बाँया खुट्टा भाचिएका कारण ५ दिनदेखि मणिपाल हस्पिटलमा उपचाररत छन् । उनको पारिवारिक आर्थिक अवस्था निकै कमजोर भएकोले समयमा उपचार गर्न ढिलाइ भइरहेको उनका मामा रामप्रसाद पुनले बताए ।

ऊ सानै उमेरको छँदा बाबा दलबहादुर श्रीसमगरको मृत्यु भएपछि आमा चन्द्रकुमारीको साथमा दुखसुख गरी जीवन गुजारा गर्दै आएका ईश्वर श्रीसको अचानक खुट्टा भाँचिएपछि आमालाई पर्नुसम्मको मर्का परेको छ । एउटा दिदी पनि विहेपछि आफ्नो घरमा रहेकोले आमाको काख र दुखसुखको साथी बनेका ईश्वरलाई ईश्वरले पनि साथ नदिदा उनको परिवारमा झन पिडामाथि पिडा थपिएको छ ।

उसको आम्दानीको स्रोत केही नभएका कारण सहयोग रकम जुटाउनको लागि टाइगर्स फिल्म प्रा.लि.का डाइरेक्टर गोविन्द पुनमगर र दिपेश काउचा मगरले सबैसँग आग्रह गरेपनि आवश्यक रकम नजुटेकाले थप सहयोगको लागि आग्रह गरेका छन् ।हालसम्म ईश्वरको उपचारको लागि गलकोट नगरपालिका वडा नं. १० ज्याठरबाट रु. ३५ हजार, घुम्टे समाज बागलुङ–पोखराबाट रु. ११ हजार ५ सय ६५ (पाण्डवखानी, रिघा, सिसाखानीबाट), समाजसेवी गौरी गुरुङबाट रु. २ हजार सहयोग प्राप्त भएको छ ।

हालसम्म संकलन भएको रकम उपचारको क्रममा सकिएको उनका मामा रामप्रसाद पुनले जानकारी दिए । चिकित्सकका अनुसार ईश्वरको बुधबार सर्जरी गर्नुपर्ने बताएका छन् । बायाँ खुट्टाको दुई ठाउँमा भाँचिएकोले खर्च धेरै लाग्ने अस्पताल स्रोतले बताएको छ । तर आवश्यक रकम नभएकोले सहयोग गरिदिनुहुन सहयोगी महानुभावहरुलाई अनुरोध गरेको छ । सहयोग गर्न चाहनेहरुले सम्पर्क नं. ९८०५१६३७८८ र ९८१८६१५०६१ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...