सरकारको निर्णयले दोस्रो चरणको निर्वाचन गर्न आयोगलाई समस्या

काठमाडौं,  ९ जेठ/सरकारले स्थानीय तहको संख्या थपेसँगै निर्वाचन आयोगलाई दोस्रो चरणको निर्वाचनको तयारी गर्न समस्या उत्पन्न भएको छ ।दोस्रो चरणमा निर्वाचन हुने ४ सय ६१ स्थानीय तहको निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुर्याएकै बेला सरकारले सोमबार​ २२ स्थानीय तह थपेपछि आयोगलाई चुनावी तयारी गर्न प्राविधिक र व्यवस्थापकीय समस्या उत्पन्न भएको हो ।

सरकारले हिजोराति २२ ओटा स्थानीय तह थप्ने निर्णय गरेको थियो ।थपिएको स्थानीय तह र सीमाना हेरफेर भएर महानगरपालिका बनेका विराटनगर तथा वीरगन्जमा चुनावका लागि तयारी गर्न प्राविधिक समस्या भएको छ ।निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि कार्यतालिका नै प्रकाशित गरिसकेको छ । तर, स्थानीय तह थप्ने सरकारको निर्णयले चुनावको कार्यतालिका नै प्रभावित हुने देखिएको छ ।

आयोगले दोस्रो चरणको चुनावका लागि आउँदो १९ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने दिन तोकिसकेको छ ।स्थानीय तहको संख्या थप्ने निर्णय अनुसार तहको नाम अनुसार नै मतदाता परिचयपत्र परिवर्तन गरेर नयाँ केन्द्र र ठेगाना अनुसार पुनःप्रकाशित गर्नुपर्ने हुन्छ ।आयोगलाई थपिएका स्थानीय तहमा निर्वाचन अधिकृत नियुक्ति गर्नुपर्ने, कर्मचारी व्यवस्थापन गर्नुपर्ने लगायतका काम थपिएका छन ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नयाँ स्थानीय तहको लागि थप काम गर्न १२ देखि १५ दिन लाग्ने र सबै कामको तालमेल मिलाउन जटिल हुने बताए ।स्थानीय तहको संख्या थपेसँगै नयाँ मतपत्र पनि छाप्नुपर्छ ।तर, निर्वाचन आयोगले कुनै हालतमा नयाँ मतपत्र छाप्न नसकिने स्पस्ट पारेको छ ।आयोगले सरकारबाट औपचारिक पत्र आएपछि मात्रै यसबारे निर्णय गर्ने जनाएको छ ।

कमेन्टहरु
Loading...