पोखरेली टोलीको स्वागतार्थ कुन्मिङमा रात्रीभोज

पोखरा, २२ असार/भगिनी सम्बन्धका लागि चीनको कुन्मिङमा रहेको पोखरेली टोलीको स्वागतार्थ शुक्रबार कुन्मिङ नगरपालिकाका चिनियाँ जनराष्ट्रिय परमार्श दातृसभाका अध्यक्ष टिएन यान जियाङले रात्रीभोजको आयोजना गर्नुभयो ।

रात्रीभोजमा स्वागत गर्दै यान जियाङले सोमबार हुन गईरहेको भगिनी सम्बध हस्ताक्षर प्रति आफू निकै उत्साहित भएको बताउनुभयो । उहाँले यो सम्बन्धले दुई नगरबीच दीर्घकालीन प्रभाव पार्ने बताउँदै कुन्मिङ नगरको तर्फबाट पोखरा नगरलाई सहयोग गर्न आफ्नो तबरबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

जियाङले शनिबारबाट सुरु हुने कुन्मिङ माउण्टेन क्रसिङ च्यालेन्ज २०१३ को प्रतिष्पर्धामा भाग लिन पोखरेली टोलीलाई आग्रह समेत गर्नुभयो । सो प्रतियोगितामा पोखराको तर्फबाट ६ जनाले भाग लिदैँछ । रात्रीभोज अघि टोलीनेता समेत रहनुभएका पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी र कुन्मिङ नगरपालिकाका चिनियाँ जनराष्ट्रिय परमार्श दातृसभाका अध्यक्ष टिएन यान जियाङबीच छुट्टै भेटवार्ता समेत भएको थियो ।

चीनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो समेत रहनुभएका यान जियाङसँगका वार्तामा द्विपक्षीय सम्बन्धबारे कुरा भएको बताउँदै अधिकारीले पर्यटन, साहसिक खेल लगायतका क्षेत्रमा सहयोग गर्न ईच्छुक देखिएको जानकारी दिनुभयो । आगामी वर्ष पोखरा भ्रमणका लागि याङ आउने जनाउँदै अधिकारीले पोखरा विकासका लागि गुरुयोजना नै निर्माण गर्नुपर्ने सुझाउ दिएको बताउनुभयो । “उहाँहरुको यो उत्साहले यो सम्बन्ध औपचारिकतामा मात्र सीमित रहँदैन । यो सम्बन्ध समग्र पोखरेलीहरुले गर्व गर्न सक्ने गरी सहयोगका क्षेत्रहरुको आदानप्रदान हुने सम्बन्ध हो ।” अधिकारीले भन्नुभयो ।

 

 

कमेन्टहरु
Loading...