एमालेले भन्यो- प्रत्यक्षबाटै सय सिट जितिन्छ

२१ असार, काठमाण्डौं । नेकपा एमालेले आगामी संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ पार्टीले बहुमतकै हाराहारीमा सिट जित्ने प्रारम्भिक चुनावी आँकलन गरेको छ । संविधानसभा निर्वाचनका लागि एकमहिने पार्टी परिचालन अभियान सकिएलगत्तै केन्द्रीय प्रतिनिधिहरूले बुझाएको प्रतिवेदन र रिपोर्टिङलाई आधार मानेर प्रवृत्तिगत विश्लेषण गर्दै एमालेले यस्तो निष्कर्ष निकालेको हो । प्रतिवेदन विश्लेषणपछि त्यसैको निष्कर्षका आधारमा एमालेले केन्द्रीय कमिटीबाट छुट्टै चुनावी योजना र रणनीति पारित गर्ने गरी तयारी अघि बढाएको छ ।

uml flag२ सय ४० निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ कडा प्रतिस्पर्धाविनै सय सिट संख्यामा सहज रूपमै विजय हासिल गर्न सकिने र पूरै तयारीसहित होमिँदा स्पष्ट बहुमत ल्याउन सकिने एमालेले प्रारम्भिक आँकलन गरेको हो । सबै निर्वाचन क्षेत्रका वडा तहसम्मका कार्यकर्ता र स्वतन्त्र व्यक्तिहरूसँग अन्तक्रिया गरी केन्द्रीय प्रतिनिधिहरूले चुनावी आँकलनसम्बन्धी प्रतिवेदन बुझाएका छन् । ‘सबै क्षेत्रबाट प्रतिवेदन त आइसकेका छैनन्, तर साथीहरूको रिपोर्टिङअनुसार अहिलेसम्म १ सय हाराहारी सिटमा सहज रूपमै विजय हासिल गर्न सकिने स्थिति देखिएको छ,’ स्थायी कमिटीका एक सदस्यले भने, ‘धेरै स्थानमा कांग्रेससँगै मुख्य प्रतिस्पर्धा देखिएकाले सोहीअनुसारको चुनावी रणनीति बनाउनुपर्ने देखिन्छ ।’

केन्द्रीय सचिवालयमा अहिलेसम्म अभियानमा खटिएका २५ क्षेत्रका संयोजकले लिखित प्रतिवेदन बुझाएका छन् । बाँकी कतिपय केन्द्रीय प्रतिनिधिहरूले अञ्चल समन्वय कमिटीसँग बसेरै संस्थागत रूपमा प्रतिवेदन बुझाउने तयारी गरी शीर्ष नेता र केन्द्रीय सचिवालयलाई रिपोर्टिङ गरेका छन् । तीमध्ये गोर्खा–२ मा खटिएका दधिराज सुवेदी, गार्खा–३ का चूडामणि जंगली, लमजुङ–२ का वाचस्पति देवकोटा, तेह्रथुमका शेरधन राई, सुर्खेत–१ का यामलाल कँडेल र धादिङ–१ का देवशंकर पौडेलले प्रतिवेदन बुझाएका छन् ।

त्यस्तै, ताप्लेजुङ–१ का देवराज घिमिरे, प्युठान–२ का गोकुल घर्ती, म्याग्दीका गणेश विश्वकर्मा, जाजरकोट–१ का रत्नकुमार शर्मा न्यौपाने, जाजरकोट–२ का निरज आचार्य, ललितपुर–२ का प्रेम महर्जन र ताप्लेजुङ–२ का वसन्तकुमार नेम्बाङले पनि लिखित प्रतिवेलन बुझाएका छन् । त्यस्तै, लमजुङ–१ मा खटिएका जितबहादुर गुरुङ, बर्दिया–१ का शारदाप्रसाद सुवेदी, दैलेख–२ का तर्कबहादुर शाही, पर्वत–१ की थममाया थापा, पर्वत–२ का ऋषिराज शर्मा, बागलुङ–२ का नवराज शर्मा, बागलुङ–३ का भूपेन्द्रबहादुर थापा, धनकुटा–२ का तुलसीप्रसाद न्यौपाने र अछाम–२ का कृष्णप्रसाद जैसीले प्रतिवेदन बुझाएको राजधानी दैनिकमा खबर छ ।

‘एमाओवादी तीव्र गतिमा ओरालो लागेको पाइएकाले हिजोको तुलनामा पार्टीको स्थिति धेरै सुदृढ देखिएको छ, जनमत पार्टीमा आकर्षित भएकाले मेहनत गर्दा पहिलो पार्टी हुन गाह्रो देखिँदैन,’ पोलिटब्युरो सदस्य तथा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले राजधानीसँग भने, ‘कतिपय स्थानमा एमाओवादी र कांग्रेससँग त्रिकोणात्मक प्रतिस्पर्धा देखिए पनि धेरै ठाउँमा कांग्रेससँगै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरेका छौं ।’

उनले संख्या भन्दा पनि प्रवृत्तिगत विश्लेषण गरिएकाले पुरै तयारीसहित चुनावमा होमिँदा २७ देखि ३० प्रतिशतसम्म लोकप्रिय मतसहित बहुमत आउने स्पष्ट आधार देखिएको दाबी गरे । cp. onlinekhabar

कमेन्टहरु
Loading...