पोखरा, ११ वैशाख / अस्ट्रेलियामा रहेको अस्ट्रेलियन हार्बर इन्टरनेसनल कलेजका प्रनिनिधिहरुले पोखराका एजुकेशन कन्सल्टेन्सीका सञ्चालकहरुसँग छलफल तथा अन्तरक्रिया गरेका छन् । पोखराका करिब ५० वटा एजुकेशन कन्सल्टेन्सीका प्रनिनिधिसँग कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन भेटवाल लगायतको टोलीले आइतबार अन्तरक्रिया तथा छलफल गरेको हो ।
कार्यक्रममा बोल्दै भेटवालले नेपालबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने विद्यार्थीको रोजाइमा हार्बर कलेज पर्न सफल भएको बताए । ‘धेरै नेपाली विद्यार्थीको रोजाईमा हार्बर कलेज पर्न सफल भएको छ,’ उनले भने, ‘नेपाली विद्यार्थीलाई विशेष प्राथमिकता दिएर हामीले भर्ना गरिरहेका छौं ।’
कलेजमा हेल्थ साइन्स, एकाउन्टिङ तथा बिजनेस अन्तर्गत विभिन्न विषयमा पढाई भइरहेको भेटवालले बताए ।‘प्रयोगात्मक कक्षामार्फत हामीले विद्यार्थीलाई स्तरीय शिक्षा प्रदान गरेका छौं,’ उनले भने, ‘अस्ट्रेलियामा नेपालीले नै कलेज सञ्चालन गर्नु आफैमा गौरबको कुरा हो । नेपालीले नै सञ्चालन गरेको कलेजमा नेपाली विद्यार्थीको आकर्षण देखिनु पनि स्वभाविक हो ।’ अस्ट्रेलियामा भएका भिजा परिवर्तन, इमिग्रेसन कानुन र त्यहाँको शिक्षा प्रणालीका बारेमा उनले जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का निबर्तमान अध्यक्ष राजेन्द्र बरालले नेपालीले अष्ट्रेलियामा खोलेका कलेज स्तरीय रहेको सन्देश दिन आग्रह गरे । ‘नेपालमा शैक्षिक परामर्श दातृ संस्थाहरु बढिरहेका छन्,’ उनले भने, ‘इक्यानको प्रतिष्ठा जोगाउने गरी व्यवसाय सञ्चालन गरिनुपर्छ ।’ यस क्षेत्रको दायित्व, जिम्मेवारी र क्षेत्रफल बढिरहेको उनले बताए ।
कार्यक्रममा इक्यानका केन्द्रीय सदस्य डिबी गुरुङ, कास्कीका अध्यक्ष मीलन तिवारी, कोषाध्यक्ष रुद्र अर्याल, हार्बर कलेजका नेपाल मार्केटिङ म्यानेजर मुकेश धमला लगायतले बोलेका थिए । पोखराका कन्सल्टेन्सी व्यवसायी र कलेजका प्रतिनिधिबीच भएको भेटघाट तथा सहजीकरण कार्यक्रम निकै प्रभावकारी बनेको कार्यक्रम संयोजक तथा इक्यान कास्कीका सचिव भुवन क्षेत्रीले बताए ।

पोखरा बृद्धाश्रमलाई सहयोग
यसैबीच, अस्ट्रेलियन हार्बर इन्टरनेसनल कलेजले पोखरा बृद्धाश्रमलाई नगद सहयोग गरेको छ । पोखरा बृद्धाश्रमका लागि आवश्यक फिजियोथेरापी सेवामा सहयोग पु¥याउने उद्देश्यले कलेजले नगद सहयोग गरेको हो ।
कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन भेटवालले बृद्धाश्रमका उपाध्यक्ष कुशुमकेशव पराजुलीलाई १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । ‘आगामी दिनमा पनि बृद्धाश्रमलाई सहयोग गर्न हामी तयार छौं,’ उनले भने । कलेजले सामाजिक उत्तरदायित्व बहनलाई प्राथमिकतामा राखेको बताउँदै उनले प्रमुख ध्यान नेपालमा दिने विश्वास व्यक्त गरे ।