नयाँ वर्षसँगै आदर्श समाज २२ औं वर्षमा, चार कर्मचारी सम्मानित

पोखरा, १ बैशाख/नयाँ वर्ष २०७४ को पहिलो बिहानीसँगै आदर्श समाज दैनिक २२ औं वर्षमा प्रवेश गरेको छ । पोखरा न्यूरोडस्थित पत्रिकाको प्रधान कार्यालय परिसरमा शुक्रबार २१ औं वार्षिकोत्सव समारोह सम्पन्न भयो । उक्त अवसरमा पत्रिकाले विभिन्न विधाका चार कर्मचारीलाई सम्मान गर्नुका साथै स्वतन्त्र पत्रकार संघको कार्यालय सञ्चालन सहयोगार्थ एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ ।

समारोहमा प्रमुख अतिथि मानव मिलन अन्तर्राष्ट्रिय संस्थाका संस्थापक नेपाल केशरी डा. मणिभद्र मुनिजी महाराजले शुभकामना अन्तस्करणबाट हुनुपर्ने बताए । उनले कसैको पनि कुभलो चिताउन नहुने भन्दै मनलाई मङ्गलमय बनाउनुपर्नेमा जोड दिए । उक्त अवसरमा प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यले आदर्श समाज पत्रिकाले पश्चिमाञ्चलमै आफ्नो छुट्टै पहिचान बनाएको बताए ।

पत्रिकाका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलाले पत्रिकालाई निरन्तरता दिन सघाउ पु¥याउने सम्पूर्णप्रति आभार व्यक्त गरेका थिए । स्वतन्त्र पत्रकार संघका केन्द्रीय महासचिव नवराज पहाडीले आदर्श समाजले संघलाई गरेको सहयोगप्रति आभार व्यक्त गरे । साथै उनले पत्रिकाले समाजमा सुशासनको जग बसाउन भूमिका खेल्नुपर्ने बताए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रिकाको टिम स्प्रिट अरुका लागि पनि प्रेरणादायी रहेको भन्दै पत्रिकाको थप प्रगतिको शुभकामना दिए । उनले समृद्धिको आयाम के के हुन् भनी पत्रिकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने भन्दै नयाँ संरचनासँगै प्रदेश नम्बर ४ को सशक्त पत्रिका बनोस् भनी कामना गरे । उक्त अवसरमा लामो समयदेखि पत्रिकामा आवद्ध रही योगदान पु¥याएकोमा विभिन्न विधामा चार कर्मचारीलाई जनही पाँच हजार र सम्मानपत्रसहित सम्मान गरिएको छ ।

सम्मानित हुनेमा रिपोर्टिङ तथा सम्पादन विभागबाट सहायक सम्पादक प्रकाशचन्द्र सापकोटा, प्राविधिक विभागबाट वरिष्ठ कम्प्युटर अपरेटर शेरबहादुर कुमाल, बजार व्यवस्थापनबाट सह बजार व्यवस्थापक बलराम बास्तोला र वितरण विभागबाट बजार प्रतिनिधि राजकुमार श्रेष्ठ छन् । उनीहरुलाई प्रमुख अतिथि नेपाल केशरी डा. मणिभद्र मुनिजी महाराज, समाजसेवी लीलाभक्त आचार्य, पत्रिकाका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला, स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव नवराज पहाडी, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पत्रिकाका व्यवस्थापक दुर्गादेवी बास्तोलाले नगद र सम्मानपत्र हस्तान्तरण गरेका थिए।

सम्मानित व्यक्तिको तर्फबाट सहायक सम्पादक प्रकाशचन्द्र सापकोटाले सम्मानबाट आफूमा उत्साह थपेको बताए । उनले पत्रिकामा प्रवेश गर्दाको स्मरण गर्दै पत्रिकालाई ‘क’ वर्गमा पु¥याउन सहयोग गर्ने सिङ्गो टिमलाई धन्यवाद दिए ।
कार्यक्रममा आदर्श समाज बहुमुखी प्रकाशन प्रालिको तर्फबाट पत्रिकाका प्रशासक मीना ज्ञवालीले स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव नवराज पहाडीलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेकी थिइन्।

उक्त अवसरमा जोजिजु म्यूजिक सेन्टरका प्रबन्ध निर्देशक विनित जोजिजूको संयोजकत्वमा रहेको ११ सदस्यीय कलाकार समूहले सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो । विनित जोजिजू, प्रिया गुरुङ, उत्प्रेम जोजिजु, शोभा गुरुङ, केशव आचार्य, सौजन्य तामाङ र समीर थापामगरले गीत गाएका थिए भने कार्यक्रममा स्नेहा पुनले नृत्य प्रस्तुत गरिन्। उक्त कार्यक्रमलाई म्यूजिक सेन्टरका प्रिन्सिपल सानु जोजिजूले व्यवस्थापन गरेकी थिइन् । आदर्श समाज बहुमुखी प्रकाशन प्रालिका संचालक तथा पत्रिकाका व्यवस्थापक दुर्गादेवी बास्तोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको साहित्यकार असफल गौतमले सञ्चालन गरेका थिए ।

देशका अधिकांश जिल्लामा पुग्ने आदर्श समाज १२ वर्षदेखि प्रेस काउन्सिलको वर्गीकरणमा ‘क’ वर्गमा पर्दै आएको कार्यकारी सम्पादक नवीन सिग्देलले जानकारी दिए । २०५३ बैशाख १ देखि पाक्षिक प्रकाशिन सुरु गरेको आदर्श समाजले २०५४ बैशाखबाट साप्ताहिक र सोही वर्षको माघ १९ गते श्रीपञ्चमीदेखि दैनिक रुपमा अनवरत प्रकाशित हुँदै आएको छ ।

कमेन्टहरु
Loading...