भारतीय विदेशमन्त्री खुर्सिद नेपाल आउने

भारतका विदेशमन्त्री सलमान खुर्सिद चाँडै नेपाल भ्रमणमा आउने भएका छन् । ‘खुर्सिद आउने पक्का हो तर मिति टुंगो भइनसकेको’ उच्च स्रोतले सेतोपाटीलाई जनाएको छ ।‘परराष्ट्रमन्त्री माधव घिमिरे जेनेभाबाट फर्केपछि खुर्सिद छिट्टै आउने गरी मिति टुंगो लगाइने छ,’ स्रोतले भन्यो, ‘खुर्सिदको भ्रमणको बेला निर्वाचनका लागि भारतीय सहयोग घोषणा हुनेछ ।’

चुनावमा सुरक्षा व्यवस्थाका लागि गृह मन्त्रालयलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि करिब हजार गाडी भारतले उपलब्ध गराउने सम्भावना रहेको स्रोतले बतायो । परराष्ट्रमन्त्री घिमिरे जेनेभा भ्रमणबाट आउनेबित्तिकै मिति तय गरिने र सकेसम्म अर्को हप्ता वा त्योभन्दा पछिल्लो हप्ता खुर्सिद नेपाल आउने परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

राजनीतिक पार्टीहरूबीच चुनावी सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा लामो विवाद र असहमति भएपछि भारतको पहलमा खिलराज रेग्मीको नेतृत्वमा गैरराजनीतिक सरकार बनाउन भारतले महत्वपूर्ण भूमिका खेलेको थियो ।

मंसिर ४ मा घोषित चुनाव हुनुपर्नेमा पनि भारतले जोड दिँदै आएको छ । ‘समयमै चुनाव गराउन यो सरकारलाई भारतको समर्थन गराउन र राजनीतिक पार्टीहरूसँग छलफल गर्न पनि उनी नेपाल आउन लागेको हुन्,’ स्रोतले जानकारी दियो ।

मंसिर ४ मा चुनाव हुनुपर्नेमा भारत–चीनलगायतका प्रमुख दातृराष्ट्रहरूले जोड दिँदै आएका छन् । भर्खरै नेपालको दुईदिने भ्रमणमा आएका चीनको राज्य परिषद्का स्टेट काउन्सिलर याङ जेइचीले आगामी संविधानसभा निर्वाचनका लागि १५ करोड ४१ लाख रुपैयाँ मूल्य बराबरको भौतिक एवम् कार्यालय सामग्री चीन सरकारले प्रदान गर्ने घोषणा गरेका छन् ।

– See more at: http://setopati.com/raajneeti/2024/#sthash.jErESkdT.dpuf

कमेन्टहरु
Loading...