पश्चिम पृतनामा एकैथलोमा १९ खेल मैदान

पोखरा, २३ भदौ / पश्चिम पृतना पोखराले एकैथलोमा विभिन्न खेलहरुको मैदान निर्माण गरेको छ । सुरक्षाकर्मीका लागि चाहिने पर्याप्त खेलमैदान नहुदा सुरक्षाकर्मीहरुले आफ्नो खेल कौशल प्रस्तुत गर्न अन्यत्रकै खेल मैदान प्रयोग गर्दा निकै कठीनाई हुने गरे पछि सेनाले सबै खेलका लागि खेल मैदान तयार पारेको हो । पृतनाभित्रै करिब एक सय रोपनी जग्गामा बास्केटबल, फुटबल, भलिबल, ह्याण्डबल, बिच भलिबल, गल्फ, क्रिकेट, लनटेनिस, ब्याडमिण्टन, एथलेटिक्स पिच, स्वीमिङ्ग पुल लगायतका खेलका लागि खेल मैदान तयार पारेको छ ।

१९ वटा खेलका लागि खेल अनुसारको मैदान तयार पारेको छ । पश्चिम पृतनाले नेपालमै पहिलोपटक स्वीमिङ्ग पुल सहितको स्पोर्टस् कम्प्लेक्स निर्माणको तयारी गरे पछि सैनिकहरुका लागि शारीरिक स्फूर्तिका साथै मानसिक रुपमा मनोबल विकास गराउन मद्दत पुग्ने पश्चिम पृतनाका पृतनापति भिक्टर शमशेर राणाले बताए ।

करिब ३० लाख रुपैयाँको लागतमा २५ मिटर लम्बार्इृ र १० मिटर चौडा स्वीमिङ्गपुल सेनाले निमार्ण गरिरहेको छ । पुल ४ देखि ७ फिट गहिरो हुनेछ । सेनाहरुलाई स्वीमिङ्ग पुल नहुँदा तालिमका लागि पोखराबाहिर लैजानुपर्ने बाध्यता थियो । ब्यारेकभित्र स्पोर्टस् कम्प्लेक्स नहुँदा फुर्सदको समयमा सैनिकहरु राम्रोसँग शारीरिक अभ्यासमा कठिनाई हुँदैआएको थियो ।

कम्प्लेक्स निर्माणपछि विभिन्न क्लबहरुले आयोजना गर्ने विभिन्न खेल प्रतियोगिताहरु गर्न पनि अनुमति दिइने सेनाले जनाएको छ । पश्चिम पृतनाअन्तर्गत हाल १३ हजार सैनिक कार्यरत् छन् भने पृतनाभित्र १ हजार सैनिक छन् । पृतनापति राणाले कम्प्लेक्स तयार भएपछी विभिन्न प्रतियोगितामा भाग लिन जाने बाहिरी खेलाडीहरुलाई पनि अध्यासका लागि अनुमति दिइने बताए ।

कमेन्टहरु
Loading...