व्यवासायीको आन्दोलन फिर्ता, पानीको आपूर्ति सहज हुने

१६ असार, काठमाडौं । आन्दोलनरत पानी व्यवसायीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएका छन् । सरकारले एक महिनाभित्रमा व्यवसायीका माग सम्बोधन गर्ने सहमती जनाएपछि व्यवसायीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । सरकारले आफ्ना माग सुनुवाई नगरेको भन्दै व्यवसायीहरुले गत बिहीबारदेखि काठमाडौं उपत्यकामा खानेपानीको बिक्री बितरण ठप्प पारेका थिए । पानीको बिक्री बितरण ठप्प भएपछि राजधानीमा खानेपानीको हाहाकार हुन थालेको थियो ।

सरकारले व्यवसायीका मागहरु सम्बोधन गर्न कार्यदल गठन गर्ने सहमती गरेको छ । ‘कार्यदलमार्फत १ महिनाभित्रमा माग सम्बोधन गर्ने सहमती भएको छ’ संयूक्त संघर्ष समितिका संयोजक विष्णु दाहालले भन्नुभयो- ‘आजैदेखि खानेपानीको सहज आपूर्ति हुन्छ ।’ आन्दोलनरत व्यवसायीहरुले पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम पिर्ता लिएको बताएका छन् । मागका सम्बन्धमा आज शहरी विकास मन्त्रालय र व्यवसायीबीच २ बजेदेखि वार्ता शुरु भएको थियो ।

व्यवसायीका सबै मागमा दुबै पक्षबीच वार्तामा गहन छलफलत भएको दाहालले बताउनुभयो । व्यवसायीहरुले ट्याङकर आयातमा भन्सार छुट दिनुपर्ने, खानेपानी व्यवसायलाई मर्यादित बनाउन नीति बनाउनुपर्ने, दर्ता भएका उद्योग सार्दा वा बन्द गर्दा क्षतिपूर्ति दिनुपर्ने लगाएतका २२ माग राखेर आन्दोलनमा उत्रिएका थिए ।

आन्दोलनमा उत्रिनेहरुमा उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायी संघ, नेपाल वोटल वाटर उद्योग संघ, उपत्यका खानेपानी ट्याङ्कर तथा वोरिङ व्यवसायी संघ र अखिल नेपाल यातायात मजदुर संघ ट्याङ्कर मुल समितिले संयुक्त रुपमा ढुवानी, बिक्री-बितरण ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।

– See more at: http://www.onlinekhabar.com/2013/06/87862/#sthash.RgSALsOP.dpuf

कमेन्टहरु
Loading...