देउवालाई भारतले प्रतिक्रान्तिको नेता बनाउन खोज्दैछ : वैद्य माओवादी

१६ असार, पोखरा । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी केन्द्रीय समितिको पूर्ण बैठक यतिबेला पोखरामा बसिरहेको छ । रेग्मीको नेतृत्वमा हुने संविधानसभा चुनावको सक्रिय बहिस्कार गर्नुपर्ने अध्यक्ष वैद्यको प्रस्तावमाथि आइतबारदेखि केन्द्रीय नेताहरुले आफ्नो विचार प्रस्तुत गर्न सुरु गरेका छन् । वैद्यको दस्तावेजमा नेपाल सिक्किमीकरणको दिशामा उन्मुख भएको भन्दै राष्ट्रियता रक्षाका लागि देशभक्तहरुको घेरा फराकिलो पार्नुपर्ने उल्लेख गरिएको स्रोत बताउँछ । के हो त्यो देशभक्तहरुको घेरा ?

वैद्य माओवादीका एक केन्द्रीय सदस्यको विश्लेषण अनुसार भारतले सिक्किमीकरणको योजनालाई सफल पार्न नेपालका तीनवटा प्रमुख पार्टीभित्र आफ्नो पक्षको नेतालाई स्थापित गर्ने रणनीति बनाएको छ । कांग्रेसभित्र सुशील कोइरालालाई कमजोर बनाएर देउवालाई नेता बनाउने, एमालेभित्र झलनाथ खनाललाई ‘कु’ गराएर केपी ओलीलाई अध्यक्ष बनाउने अनि एमाओवादीभित्र कृष्णबहादुर महरालाई महासचिवमा आउन नदिएर वर्षमान पुनलाई महासचिव र रामचन्द्र झालाई पदाधिकारीमा ल्याउने खेल भारतले खेलिरहेको वैद्य माओवादी नेताको निश्कर्ष छ । भारतले चुनाव अघि नै यस्तो सेटिङ मिलाउन खोजिरहेको ती नेताले दाबी गरे ।

नेपालमा हुने अनेक राजनीतिक घटनाक्रमलाई यसरी भारतसँग जोडेर हेर्ने र विश्लेषण गर्ने प्रचलन नयाँ होइन । यही पुरानो प्रचलनलाई निरन्तरता दिँदै वैद्य नेतृत्वको माओवादीले कांग्रेसभित्र देउवाको तुलनामा सुशील कोइरालालाई अपेक्षाकृत राष्ट्रवादी रहेको निश्कर्ष निकालेको छ । त्यस्तै भारतबाट नरुचाइएका एमाले अध्यक्ष झलनाथ खनाल केपी ओलीको तुलनामा राष्ट्रवादी नेता भएको वैद्यपक्षको ठहर छ । एमाओवादी अध्यक्ष प्रचण्डले भारतलाई रिझाउने नीति लिएको र बाबुरामभन्दा अगाडि बढेर भारतलाई खुशी पार्न खोजिरहेको निश्कर्ष वैद्य माओवादीका नेताहरुको छ । एमाओवादीभित्र भारतीय खेलकै कारण कृष्णबहादुर महरालाई महासचिव बन्न नदिइएको र वर्षमान पुनलाई नयाँ पात्रका रुपमा अगाडि ल्याउन लागिएको दाबी बैद्य माओवादीका नेताले गरेका छन् ।

’भारतले नेपालका कम्युनिष्ट क्रान्तिकारीलाई दबाउन सक्ने प्रतिक्रियावादी नेता खोजिरहेको छ र यसका लागि त्यस्तो उपयोगी पात्र शेरबहादुर देउवा बन्दैछन् ।’ वैद्य माओवादीका केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने-’अब नेपालको राजनीतिमा तीब्र धु्रवीकरण हुन्छ, एकातिर देउवाको नेतृत्वमा प्रतिक्रियावादी र दलालहरु उभिनेछन्, अर्कातिर देशभक्त र क्रान्तिकारीहरु हुनेछन् ।’ वैद्य माओवादीका केन्द्रीय सदस्यले मंसिर ४ को चुनाव कुनै पनि हालतमा हुन नदिने बताए । यही निहुँमा आफूहरुमाथि दमन गरिए भूमिगत भएर छापामार युद्धमा जाने उनले बताए । र, आफूहरुमाथि दमन गर्न रेग्मी सरकारको ठाउँमा देउवाको नेतृत्वमा भारत समर्थित सरकार आउने उनले आफ्नो विश्लेषण सुनाए । – See more at: http://www.onlinekhabar.com/2013/06/88169/#sthash.yoV6Tde8.dpuf

कमेन्टहरु
Loading...