काठमाडौं, असार १३ – अर्को पार्टीमा प्रवेश गरेका मधेसी दलका नेतामध्ये कतिले फेरि सभासद/मन्त्री वा अन्य पद पाउने आश्वासन पाएका होलान् ? कतिले राजनीतिक नियुक्ति वा अन्य कुनै अवसर पाइएला र फाइदा लिन सकिएला भनेर एउटा पार्टी छोडेर बलियो पार्टीमा प्रवेश गरे होलान् । असार १० मा तमलोपा नेपाल छाडेर विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) प्रवेश गरेकी महिला आयोगकी अध्यक्षसमेत रहेकी शेष चाँदताराले पार्टी छाड्नुको कारण भने भिन्न छ ।
पेसाले अधिवक्ता भए पनि राजनीति गर्ने चाँदताराका श्रीमान मन्सुर बाबु तमलोपा नेपालको भ्रातृ संगठन ‘लोकतान्त्रिक मुस्लिम फ्रन्ट’ को पहिलो राष्ट्रिय सम्मेलनमा अध्यक्षमा लडे । तर उनी अशरफ अन्सारीबाट अध्यक्षमा पराजित भए ।
तमलोपा नेपालका अध्यक्ष महेन्द्र राय यादवकै कारण आफू अध्यक्षबाट पराजित भएको भन्दै उनले श्रीमती चाँदतारालाई हारेकै दिनदेखि पार्टी त्याग्न दबाब दिन थाले । पार्टी केन्द्रीय सदस्यसहित महिला विभाग प्रमुख रहेकी चाँदतारा भने तमलोपा नेपाल छाड्न चाहन्नथिन् ।
‘श्रीमानले पार्टी छाड्न दिनदिनै दिने दबाब थेग्न नसकेपछि उहाँले अध्यक्ष यादवकहाँ आएर गुनासो गर्नुभए छ,’ तमलोपा नेपालका उपाध्यक्ष अलाउद्दिन अन्सारीले बुधबार कान्तिपुरसित भने, ‘पारिवारिक कारणले पार्टी (तमलोपा नेपाल) मा बसेर सहयोग गर्न नसक्ने भएँ, दुःख नमान्नुहोला भनेर ब्रिफिङ गर्नुभए छ ।’
त्यसको केही दिनमा उनी गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक प्रवेश गरेकी हुन् । राजेन्द्र महतो नेतृत्वको सद्भावनाले समेत उनलाई प्रवेश गराउन कसरत गरेको थियो । मन्सुर पनि फोरम लोकतान्त्रिकमै प्रवेश गरेका छन् । ‘धेरै मनन गरेपछि फोरम लोकतान्त्रिकमा जाने निर्णय गर्यौं,’ उनले भने ।
२०६४ मा तमलोपा केन्द्रीय सदस्यका रूपमा राजनीतिमा प्रवेश गरेकी वीरगन्जकी चाँदतारा तमलोपा नेपाल गठन भएपछि केन्द्रीय सदस्यकै हैसियतमा उक्त पार्टीमा थिइन् । यादवले उनलाई महिला विभाग प्रमुख बनाउनुका साथै बाबुराम भट्टराई नेतृत्वको सरकारका बेला महिला आयोग अध्यक्षमा सिफारिस गरेका थिए ।
अध्यक्ष यादवले समेत अन्य कारणले नभई ‘श्रीमानकै दबाब खप्न नसकेपछि अन्तमा पार्टी त्याग्न बाध्य भएकी’ बताए । ‘हामीले उहाँलाई राम्रै हैसियतमा राखेका थियौं,’ उनले कान्तिपुरसित भने, ‘बरु उहाँका श्रीमान पछिल्लो समयमा पार्टीप्रति निकै नै असन्तुष्ट हुनुहुन्थ्यो ।’
फोरम लोकतान्त्रिक प्रवेश गरेकी चाँदताराले ‘ठूलो पार्टीमा गएर महिलाको क्षेत्रमा राम्रो काम गर्न सकिएला भनेर’ पार्टी फेरेको प्रतिक्रिया दिइन् । ‘मलाई गच्छदारको पार्टी ठूलो लाग्यो,’ उनले भनिन्, ‘त्यही भएर त्यतै लागें, यो मेरो स्वतन्त्रता हो ।’
– See more at: http://www.ekantipur.com/np/2070/3/13/full-story/370912.html#sthash.eyRV0AID.dpuf