अबको चुनावमा मधेसवादी दल पुछारमा

१२ असार, काठमाण्डौं । मधेस आन्दोलनपछि उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम मधेसको सबैभन्दा ठूलो शक्ति रुपमा उदाउँदा धेरै नयाँलाई राष्ट्रिय राजीनामा ल्यायो । उपेन्द्र यादवको केन्द्रीय टोलीमा रहेका मध्येका एक उपेन्द्र झा हुन, जो पछिल्लो समय सक्रिय राजनीतिमा छैनन् । फोरमबाट विजय गच्छदारको फोरम लोकतान्त्रिकमा गएका उनी अहिले मधेसवादी दलको नेतृत्वप्रति नै घृणा गर्छन् र बैचारिक आन्दोलन चलाउँछु भन्दै स्वतन्त्र भएका छन् । यिनै उपेन्द्र झाको विश्लेषण छ- चुनावमा मधेसवादी दलबीच मोर्चाबन्दी नहुने हो भने मधेसवादी दलहरु सबैभन्दा पुछारमा हुन्छन् ।’ मधेसको राजनीतिक अवस्थाबारे झाको विश्लेषण उहाँकै शब्दमा :

upendraमधेसलाई अधिकार सम्पन्न गराउने उद्देश्यका साथ म मधेस आन्दोलनमा लागेको हुँ । मधेस आन्दोलनपछि एक्कासी के देखियो भने पार्टीहरु सैद्धान्तिक रुपबाटै विचलित भए, विचारको अडान केही पनि रहेन । मधेस आन्दोलनले जुन कुरा स्थापित गर्न खोजेको थियो, कुनै पार्टीले पनि त्यसलाई अगाडि बढाउने काम गरेन । यस्तो कसरी भयोभन्दा मधेस आन्दोलनमा विभिन्न पार्टीबाट आएका व्यक्तिवादी चरित्र भएका मान्छेहरुले आन्दोलनको नेतृत्व कब्जामा लिए । र, राजकीय सुखसयल कसरी लिन सकिन्छ, कसरी धन आर्जन गर्न सकिन्छ भन्नेतिर मधेस आन्दोलनलाई लिएर गए । यसको परिणाम प्रष्ट भइसकेको छ । त्यही देखेर मलाई वितृष्णा पैदा भयो ।

म के सोचेर आएको थिएँ र के भयो ? तिनीहरुले आफ्नो व्यक्तिवादी चरित्रलाई अगाडि बढाउँदै जाँदा र नैतिक धरातल गुमाएर अनैतिक अगाडि बढ्दै जाँदा मैले त्यसमा बसेर तीनीहरुको मतियार बनेर बस्नुभन्दा अलग्गै बैचारिक आन्दोलनलाई अघि बढाउँछु भन्ने लागेर स्वतन्त्र भएको हुँ ।

०००

उपेन्द्र यादव आन्दोलनबाट उदाएको मान्छे, आन्दोलनबाट उदाएको मान्छेको यति ठूलो व्यक्तिगत महत्वकांक्षा नआउनु पर्ने हो अरुभन्दा । तर, मैले के देखेँ भने उपेन्द्रको व्यक्तिगत महत्वाकांक्षा नै सबैभन्दा बढी देखेँ । त्यो देख्दा मलाई साह्रै नमज्जा लाग्यो । पार्टीमा उहाँको व्यवहार हेरेर मैले उहाँलाई इदी अमिनको संज्ञा दिएर नै अलग हुने निर्णयमा पुगिसकेको थिएँ । तर, त्यसबेला विजय गच्छदार अलग हुँदै थिए । हुन त उपेन्द्र यादव मधेसको अधिकारको बारेमा विजय गच्छदार भन्दा त असल नै हो तर, म उपेन्द्र यादवलाई छोड्न सक्छु भने विजयलाई नेता मानेर अलग भएको हैन । म उपेन्द्रबाट निस्कन चाहन्थेँ । मैले विभाजनलाई अवसरको रुपमा उपयोग गरेको हो ।

विजय गच्छदारले घाइतेको उपचार, मुद्दा खारेज लगायतका ४ बुँदे प्रतिवद्धता गरेका थिए । ३ महिनाभित्र सम्बोधन गर्छु भनेकाले केही दिन विजयलाई साथ दिएको थिएँ । उहाँले केही गर्नु भो, धेरै छाडिदिनुभो । त्यसले निराशा बढ्यो र भनेर नै पार्टी छाडेँ । ममा मधेसवादी दलका अध्यक्षहरुप्रति मलाई वितृष्णा छ ।

उपेन्द्र यादवमा समग्र मधेसलाई नेतृत्व गर्ने सक्ने क्षमता विकास भएकै छैन । विविध संस्कार, राजनीतिक विचार भएको मधेसलाई समेटेर राख्न सक्ने क्षमता उहाँमा विकास भएको मैल पाइन् । त्यो जबसम्म विकसित हुँदैन, तबसम्म आन्दोलनबाट उदाएको उपेन्द्र यादव महान हुनुहन्छ भन्ने मेरो बुझाइ छैन ।

०००

मधेस क्रमिक रुपमा बिग्रिँदै गएको छ । त्यो कांग्रेस, एमाले र माओवादीको एकीकृतरुपमा मधेसमा जुन रुपमा षड्यन्त्र भइरहेको छ, त्यसले गर्दा पनि र त्यसको डिफेन्समा मधेसमा रहेका कुनै पनि दल अगाडि नबढेका कारणमधेसको राजनीति भासिँदै गएको छ । अहिले सम्पूर्ण मधेसवादी दलको एउटा मोर्चा हुन आवश्यक छ । पार्टी वा मोर्चाका रुपमा एक ठाउँमा आउँदा मधेसले व्यहोर्नु पर्ने क्षति कम गर्न सकिन्छ कि भन्ने लाग्छ ।

अहिलेको अवस्थामा मधेसवादी दलहरु एक ठाउँमा मिलिहाल्ने अवस्था छैन । तर, सबै दलहरु एक ठाउँमा उभिनुपर्छ भन्ने मधेसको हित चाहनेहरुको भनाई छ । जसको खराव प्रवृत्ति छ, उसको पनि अस्तित्व संकटमा छ । अब मधेसले पत्याइरहेको छैन । त्यो अवस्थामा उपनि के चाहन्छ भने सबै जना एक ठाउँमा बस्दा हाम्रो पनि अस्तित्व बच्छ । यो मिलनको न्यूनतम विन्दु भएकाले चुनाव नजिकिँदै जाँदा धेरै पर रहेका दलहरुलाई पनि एक ठाउँमा आउन दबाव दिन्छु ।

जेपी गुप्तालाई हेरौं, शरतसिंह भण्डारीलाई हेरौं, सबैले मधेसको विश्वास गुमाइसकेका छन् । विजय गच्छदार, उपेन्द्र यादव महन्थ ठाकुर सबैभन्दा बढी । सिद्धान्तलाई अगाडि बढाउन नसक्ने, मधेसलाई एक ठाउँमा ल्याउन नसक्नेहरुले गर्दा मधेसको वर्तमान नेतृत्व विग्रिएकै हो ।

आन्दोलनबाट आएको उपेन्द्र यादव मेरो जातको बाहुल्य छ भनेर छुट्टै मोर्चा बनाएर बस्नुभएको छ । हामी किन जाने ? यीनीहरु हामीलाई बिगार्ने, पार्टी फुटाउने मान्छे हो भनेर बस्नु भएको छ । तर, यादव बाहुल्य मधेसले उपेन्द्रलाई नै भोट खन्याउँछ भन्ने छैन । उपेन्द्र यादवसँग पनि मधेस रिसाएको छ । यसले सम्हाल्न सकेन भनेर अरुभन्दा बढी उसैसँग मधेस रिसाएको छ । उनका मन्त्रीहरु पनि भ्रष्टाचारीमा परेकै हुन् । पछिल्लो समय सत्ता बाहिर रहेको भनिए पनि उ पनि सत्तामा गएकै हो । केही समय सत्ता बाहिर रहँदैमा सबै दाग पखालिएको छैन ।

विजय गच्छदार म त स्वर्गमा पुग्न एक पाइला मात्र पछि छु, उपप्रधानमन्त्री भइसकेको मान्छे हुँ । मेरो त त्यो पो हो हैसियत भन्नेमा हुनुहुन्छ । महन्थ म त निष्कलंक नेता भन्नेमा हुनुहुन्छ । तर, अब विजय गच्छदार, महन्थ ठाकुर, उपेन्द्र यादवले मधेसको नेतृत्व गर्न सक्दैन । अब नयाँ पुस्ताले मधेसको नेतृत्व गर्छ, समय लाग्न सक्छ ।

०००

मधेसवादी दलहरुबीच मोर्चाबन्दी नहुने हो भने त्यसको फाइदा सबैभन्दा बढी एमाओवादीले उठाउँछ । दोस्रोमा कांग्रेस हो । त्यसपछि एमाले, राप्रपा आदि आउँछ । मधेसवादी दलहरु त सबैभन्दा पुछारमा हुन्छन् । यसमा हामी फाइदा लिन्छैां भन्ने मधेसवादी दलहरुको भ्रम हो ।

मधेसले मधेसीलाई नै भोट दिन्छन् । तर, त्यो मधेसी मतदाताले माओवादीको मधेसी, कांग्रेसको मधेसी, एमालेको मधेसी र राप्रपाको मधेसीलाई भोट दिन्छ । तर, समग्र मधेसको मन्त्र हैन, २५ वटा जप गर्ने मधेसीहरु जितेर आउँछ । विकृत मानसिकता भएका मधेसीहरु जितेर आउँछन् ।

हेर्दै जानुहोला, महन्थ, उपेन्द्र विजय, राजेन्द्र यी चारैजनालाई माओवादीले खाइदिन्छ । मधेसमा माओवादीले आफ्नो किल्ला गाड्छ । अबको चुनावमा माओवादीले मधेसमा बहुमत ल्याउने देखिन्छ । किनभने मधेसका मतदाता पहाडको जस्तो शिक्षित छैनन् । माओवादीको नेतृत्वले उनीहरुलाई आफ्नो पक्षमा पार्न सक्छन् ।

मधेसवादी दलहरुप्रति बढेको वितृष्णाको फाइदा माओवादीले लियो र उसले त्यहाँ किल्ला गाढ्यो भने मधेसले कम्तिमा ५० वर्ष अधिकारको कुरा नसोचे हुन्छ । संघीयताभन्दा भन्दै संघीयतालाई अन्त्य गर्ने यी दलहरुले मधेसको हित गर्छ भन्ने मूर्खता मात्र हो । सबैभन्दा राम्रो माओवादी भन्न सकिन्न, तर ठूलो पार्टी भएकाले यसले केही गर्छ भन्ने जनमानसलाई परेको छ । तर, उ पनि जनअपेक्षाअनुसार अघि बढ्ने अवस्था छैन । मधेसको बारेमाभन्दा जहाँ कांग्रेस र एमाले छन्, माओवादी पनि त्यहीँ छ ।

अबको संविधानसभामा मधेसको बाहुल्यता न्यून हुन्छ । कांग्रेस, एमाले र माओवादीको बहुमत हुन्छ । र यीनीहरुले संघीयताबारे टुङ्गो लगाउने जिम्मा संसदलाई दिएर नयाँ संविधान जारी गर्छन भने मैले देखेको छु । र, मधेस एकीकृतरुपमा संघीयताको आवाज नउठोस् भनेर यीनीहरु प्लान्टिङ गरिरा’छन् । मधेस अब उनीहरुले कब्जा गर्छन् । त्यसपछि मधेसमा नयाँ नेतृत्वले आन्दोलन गर्छ । तर, मंसिर ४ को चुनाव अघि नै सम्भव हुन्छ भन्ने मलाई लाग्दैन ।

– See more at: http://www.onlinekhabar.com/2013/06/86454/#sthash.kareOh9b.dpuf

कमेन्टहरु
Loading...