एमाओवादीमा महरालाई महासचिव, रामचन्द्रलाई सचिव

१२ असार, काठमाडौं । बिहीबारदेखि शुरु हुने एकीकृत नेकपा माओवादीको केन्द्रीय कमिटी बैठकले महासचिव पोष्टबहादुर बोगटीको ठाउँमा कृष्णबहादुर महरालाई ल्याउने भएको छ । तीन/चार दिनसम्म चल्ने बैठकले सचिव पदमा एमालेबाट आएका रामचन्द्र झालाई समेत ल्याउने तयारी गरेको एमाओवादीको उच्चस्तरीय स्रोतले अनलाइनखबरलाई बतायो ।

MAHARA-AND-RAMCHANDRA‘अध्यक्ष प्रचण्डले हेटौडा महाधिवेशन अघि संगठन विभागको प्रमुख बनाउने बेलामा नै महराजीलाई महासचिव हुन सक्ने संकेत गरिसक्नुभएको रहेछ’- स्रोतले भन्यो, ‘त्यसैले महराजीलाई महासचिव बनाउने र बोगटीजीलाई उपाध्यक्ष बनाउने हाम्रो तयारी छ ।’

एमाओवादीभित्र पदाधिकारीसम्बन्धी समस्या हल गर्न तीनवटा विकल्प अघि सारिएका थिए । महाचिवमा बोगटीलाई नै यथावत राखेर पदाधिकारीलाई पूर्णता नदिई चुनावमा जाने एउटा विकल्प प्रस्तुत गरिएको थियो भने दोस्रो विकल्पमा रुपमा ५ जनालाई उपाध्यक्ष बनाएर वर्षमान पुन अनन्तलाई महासचिव बनाई ठूलो आकारको पदाधिकारी कमिटी बनाउने प्रस्ताव आएको थियो । तेस्रो प्रस्तावचाहिँ कृष्णबहादुर महरालाई महासचिव बनाउने प्रस्ताव शीर्ष तहबाट आएको थियो ।

अन्ततः महरालाई नै महासचिव बनाउने प्रस्तावमा प्रचण्ड र बाबुराम भट्टराई दुबैवीच सहमति भइसकेको दाबी गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो-’महराजीलाई महासचिव बनाउने सम्बन्धमा अब कसैमा पनि विमति छैन ।’

महरा महासचिव भएपछि हेटौडा महाधिवेशनबाट महासचिव बन्नुभएका बोगटी उपाध्यक्ष बन्नु हुनेछ । पदाधिकारीको पूर्णतापछि एमाओवादीमा डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी उपाध्यक्ष बन्नुहुनेछ । उपाध्यक्षका लागि चर्चामा आउनुभएका अमिक शेरचन भने उपाध्यक्षमा नपर्ने निश्चित भएको स्रोतको दावी छ ।

पार्टीका शीर्ष नेतावीच भएको भित्री सहमतिअनुसार सचिवमा वर्षमान पुन, टोपबहादुर रायमाझी र गिरिराजमणि पोखरेललाई ल्याइने भएको छ । पदाधिकारीमा मधेसी र महिलाबाट पनि प्रतिनिधित्व हुनुपर्ने माग उठेका कारण एमालेबाट प्रवेश गर्नुभएका रामचन्द्र झालाई समेत सचिवमा ल्याउने सहमति भएको स्रोतले अनलाइनखबरलाई बतायो । सचिवमा मधेसीका तर्फबाट विश्वनाथ साहको समेत चर्चा थियो । तर, साहको साटो नवप्रवेशी झालाई ल्याउने सहमति उच्च तहमा भएको बुझिएको छ । महिलालाई पदाधिकारीमा ल्याउने योजना अनुसार हिसिला यमीलाई कोषाध्यक्षमा ल्याउन लागिको जनाइएको छ ।

एकसाता पहिलेको बैठकमा महराको कार्यदलले पेश गरेको प्रस्तावमा ६५ पुगेका नेतालाई अवकाश दिइनुपर्ने र केन्द्रीय समितिमा आउन १५ वर्ष काम गरेको हुनुपर्ने मापदण्ड पारित नहुने भएको छ । ‘कर्मचारीलाई जस्तो यति वर्षमा रिटायर्ड हुने भन्ने प्रस्ताव सही छैन । स्रोतले भन्यो, नेताले आफूले सक्ने बेलासम्म काम गर्ने हो ।’

बैठकले चुनावअघि नै केन्द्रीय पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटीको टुंगो लगाउने स्रोतको भनाइ छ । समितिको पूर्णतालाई थाती राखेर चुनावमा जाने भन्ने चर्चालाई गलत बताउँदै स्रोतले भन्यो- ‘महाधिवेशनपछिको बैठक भएकाले यही बैठकबाट संगठनलाई पूर्णता दिइनेछ ।’

अघिल्लो साता शुरु भएर विहीबारदेखि पुनः बस्न लागेको एमाओवादी बैठकमा विभिन्न कार्यदलका प्रतिवेदनहरुका साथै प्रचण्डको उत्पादनसम्बन्धी प्रस्तावलाई टुंगो लगाउने कार्यसूची रहेको छ । साथै बैठकले अािर्थक अनियमितता सम्बन्धी छानविन प्रतिवेदनको टुंगो लगाइने र निर्वाचनको रणनीतिसमेत तयार पारिने एमाओवादी नेताहरुले बताएका छन् ।

– See more at: http://www.onlinekhabar.com/2013/06/86660/#sthash.M7djMCFB.dpuf

कमेन्टहरु
Loading...