चुनावअघि नै एमालेको केन्द्रीय समिति भंग हुने संकेत

८ असार, काठमाडौं । नेकपा एमालेमा संविधानसभाको निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने माग उठिरहेका बेला एकथरि नेताहरुले झलनाथ खनालले नेतृत्व नछाडे चुनाव अगावै महाधिवेशन आयोजक समिति गठन गरेर मात्रै चुनावमा जानुपर्ने विकल्प प्रस्तुत गरेका छन् । अध्यक्ष झलनाथ खनालको नेतृत्व असफल भएको भन्दै नेता केपी शर्मा ओली चुनावअघि नै महाधिवेशन गर्ने र नेतृत्वमा आउने प्रयासमा हुनुहुन्छ । ओली पक्षीय नेताहरुले संविधानसभा चुनावबाट पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउन पनि नयाँ नेतृत्व चाहिने भन्दै राष्ट्रिय प्रतिनिधि परिषदको बैठकमार्फत महाधिवेशनको मागका लागि लविङ गरिरहेका छन् । तर, ओली पक्षले महाधिवेशनको माग चर्काउने भएपछि अध्यक्ष झलनाथ खनालले केन्द्रीय समितिको बैठक पछि सार्दा राष्ट्रिय परिषद् बैठक नै अन्यौलमा परेको छ । परिषद बैठक अनिश्चित भएपछि चुनावअघि नै पार्टीको नेतृत्वमा आउने ओलीको इच्छा पूरा नहुने देखिएको छ । चुनावअघि महाधिवेशन आयोजक समिति तत्काल महाधिवेशन नहुने अवस्थामा एमालेभित्र खनालको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिणत गरेर चुनावमा जानुपर्ने विकल्प केही नेताले प्रस्तुत गरेका छन् ।

यसरी आयोजक समिति बनाउँदा केन्द्रमा सदस्य संख्या विस्तार गर्न सकिने र असन्तुष्टहरुलाई पनि ठाउँ दिन पाइने विश्लेषण एकथरिको छ । खनालपक्षचाहिँ चुनाव अगावै आफ्नो नेतृत्वलाई तदर्थ बनाउने पक्षमा देखिँदैन । ‘एमालेको अहिलेको नेतृत्व असफल भएकै हो । अर्कोतर्फ महाधिवेशनको समय पनि हुनै लाग्यो । त्यसो भएकाले अब महाधिवेशनको बारेमा छलफल चल्नु अस्वभााविक होइन्’ एमालेका एक शीर्षनेताले अनलाइनखबरसँग भने-’तर, चुनावको मिति घोषणा भइसकेको अवस्थामा महाधिवेशन गर्न निकै कठीन छ । यसको विकल्पमा महाधिवेशन आयोजक समिति बनाएर जाने तयारी भइरहेको छ ।’ ओली पक्षीय नेताहरु भने आगामी असोजमा महाधिवेशन गर्नु पर्ने माग गर्छन् । अब पनि विभिन्न बाहाना बनाएर महाधिवेशनलाई टार्ने प्रयास स्वीकार्य हुँदैन’ एक नेताले भने-’असोजमा महाधिवेशन गरेर पनि मंसिरमा चुनाव गर्न सकिन्छ ।

महाधिवेशनले नयाँ उर्जा दिन्छ ।’ खनाल-नेपाल गठबन्धनले रोक्न सक्ला ? एमालेका प्रभावशाली नेता ओली एमालेमा परीक्षण हुन बाँकी नेतामध्येका एक हुनुहुन्छ । राष्ट्रिय राजनीति र पार्टीको अन्तरिक राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने नेता ओलीले अहिलेेसम्म न त प्रधानमन्त्री न पार्टीकै अध्यक्षता गर्नुभएको छ । ‘उहाँमाथि आफ्नाहरुको विश्वास छ, अरुको सहानुभूति छ भने राष्ट्रिय राजनीतिमा पनि उहाँले खेलेको भूमिका महत्वूर्ण छ’ एक नेताले भने-’माधवजीले १५ वर्ष र झलनाथजीले २ कार्यकाल पार्टीको नेतृत्व गरिसक्नुभएकाले पनि अबको नेतृत्व उहाँबाटै हुन्छ ।’ तर, अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालले ओलीलाई सजिलै ओलीलाई पार्टीको नेतृत्व दिने पक्षमा हुनुहुन्न । खनाल फागुनअघि महाधिवेशन टार्न सके थप एकवर्ष नेतृत्वमा रहन पाइन्छ भने दाउमा हुनुहुन्छ । खनालले महाधिवेशन एक वर्ष पछिसम्म सार्न सकिने बताउन थाल्नुले यसैको संकेत गर्ने एमाले नेता बताउँछन् ।

– See more at: http://www.onlinekhabar.com/2013/06/85101/#sthash.iHnRTfRi.dpuf

कमेन्टहरु
Loading...