बुद्ध मण्डला निर्माणका लागि रिम्पोछेबाट २० लाख सहयोग

पोखरा, २९ माघ/८० मिटर अग्लो बुद्धको मुर्तिसहितको पोखराको काहुडाडामा निर्माण गरिने धर्मकाया बुद्ध मण्डला निर्माणका लागि अवतारी गुरु साङपा रिम्पोछेले २० लाख रुपैया सहयोग गर्नुभएको छ । बुद्ध मण्डला निर्माणका लागि अन्तरराष्ट्रिय समन्वयकर्ता समेत रहनु भएका धर्मकाया बुद्ध मण्डला निर्माण समितिका संरक्षक रिम्पोछेले व्यक्तिगत उक्त रकम दान गर्नुभएको हो ।

पोखरालाई बुद्ध सर्किटसँगै जोड्दै पोखराको पर्यटनको केन्द्रको रुपमा विकास गर्न काँहुडाडामा निर्माण गरिने बुद्ध मण्डला निर्माणमा ६ रोपनी जग्गा खरिद गर्नुपर्ने भएकाले धर्मकाया बुद्ध मण्डला बिकास तथा ब्यबस्थापन समितिले भुमिदानका लागि केही दिन अघि सहयोगको आव्हान गरे अनुसार सहयोगको क्रम शुरु भएको हो । मण्डलाकै लागि पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको तर्फबाट १ लाख ११ हजार १११ रुपैया सहयोगको घोषणा गरिएको बुद्ध मण्डला निर्माण समितिका महासचिव राजबहादुर गुरुङले जानकारी दिनुभयो ।

यस अघि निर्माण समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङ(मैना)ले ११ लाख ११ हजार १११ रुपैया, बौद्ध अर्घौं सदनका पुर्व अध्यक्ष तथा निर्माण समितिका सल्लाहकार जमदार बिलबहादुर गुरुङले १ लाख रुपैया, घान्द्रुक गाउं स्थायी ठेगाना भई हाल युकेमा रहनु भएका भुपेन्द्र गुरुङले ११ हजार भुमिदानका लागि सहयोग घोषणा गरिसक्नुभएको छ ।

भगवान बुद्धको मुर्ति रहने काहुँ डांडामा रहेको एक रोपनी जग्गा काहुँ घोथाने परिवारका सुवेदार इन्द्रबहादुर गुरुङ, सुवेदार प्रेमबहादुर गुरुङ, मिनबहादुर गुरुङ र पुर्णकुमारी गुरुङ, अर्को एक रोपनी जग्गा काहुँ घोथाने परिवारका भाञ्जा खिमबहादुर गुरुङले गरि दुई रोपनी जमिन भुमिदानको घोषणा गरिसक्नु भएको छ । भगवान बुद्धको मुर्ति रहने भुमि मध्ये ७ करोड मुल्यको जग्गा निर्माण समितिले खरिद गर्नुपर्ने भएकाले निर्माण समितिले भुमिदानका लागि सहयोगका आग्रह गरेको अध्यक्ष रुद्रकुमारी गुरुङ(मैना)ले बताउनुभयो ।

मण्डला निर्माणका लागि यस अघि नै कुमार क्षत्री अध्यक्ष रहेको घारापानी सामुदायिक बन उपभोक्ता समितिले १७० रोपनी जग्गा उपलब्ध गराएको महासचिव राजबहादुर गुरुङले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...