अन्तराष्ट्रिय रक्सी भट्टीसंगै जुर्मुराउँदै पोखरेली नाटक

पोखरा, ६ असार/एक दशकसम्म सुस्ताएको पोखराको नाट्य सँस्कृति जुर्मराउने तरखरमा लागेको छ । एक दशकभन्दा बढि समय सम्म पोखरामा नाटकको शुन्यता भएपनि केहि नाट्यकर्मी र कलाकारहरुले यसलाई ब्यूँताउन लागिपरेका छन् । केहि समय अगाडी युथ क्रियशन थियटर नामक संस्था गठन गरेर पोखरामा नाटक प्रदर्शन गर्न उनीहरु लागिपरेका छन् । थियटरले बुधबार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरेर नाटक प्रदर्शनका लागी तयार भएको जानकारी दिएको छ ।

Mainkhabar-Raksi-bhatti-banner‘अन्तराष्ट्रिय रक्सी भट्टी’ नामक नाटक असारको १४ र १५ गते पोखराको उद्योग वाणिज्य संघको हलमा प्रदर्शन गरिने थियटरले जनाएको छ । ‘नाटकको लागी आवश्यक तयारी लगभग पुरा भैसकेको छ ।’ थियटरका अध्यक्ष कपिल शर्मा संजोगले भने–‘अहिले टिकट विक्रि भैरहेका छन् भने नाटकका लागी पोखरेलीहरु निकै उत्सुक समेत बनेका छन् ।’ एक दशक भन्दा लामो समयसम्म नाटकको स्वाद चाख्न नपाएका पोखरेलीहरुका लागी यो नाटक निकै स्वादिलो बनेर आउने उनको दाबी थियो ।

नाटकलाई नाट्यकर्मी कृष्ण उदासीले निर्देशन गरेका छन् । नाटकमा लेखन समेत उनकै रहेको छ । ‘नाम सुन्दा नाटक अलिक भिन्न लागेपनि यो नितान्त हाम्रै कथामा आधारित नाटक हो ।’ निर्देशक उदासीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने–‘नाटकले विशेषगरि राष्ट्रियताको सवाललाई बलियो गरि उठाएको छ ।’ नाटकलाई पोखरेली दर्शकले मन पराउनेमा कुनै दुईमत नभएको उनले बताए ।

धेरै समयको अन्तरालपछि मञ्चन हुन लागेको यो नाटकको प्रदर्शन पश्चात पुनः अर्को नाटक प्रदर्शन गर्ने थियटरले जानकारी दिएको छ । नाटकलाई व्यवसायिक बनाउँदै व्यवसायिक कलाकार उत्पादन गर्ने थियटरको लक्ष्य रहेको पत्रकार सम्मेलनमा बताईयो । नाटकमा कपिल शर्मा, रेम बिक, ईन्दु श्रेष्ठ, मनोज घर्तीमगर, सौगात पोखरेल, सरु लामिछाने, दिपक त्रिपाठी, रेखा पुरी, विभु भुषाल, अस्मिता गुरुङ, मनिष पुरी, प्रकाश पराजुली, पारु भण्डारी, सन्ध्या अधिकारी, प्रदीप सुवेदी, रुपिन्द्रप्रभावि कटु र लक्ष्मी पल्पसा लगाएतका कलाकारहरुले रिहर्सल गरिरहेका छन् ।

नाटकको प्राविधिक पक्षमा व्यवस्थापन तर्फ हेमन्त पराजुली, संगीततर्फ योगेश काजी, ऋतु लामा, कमला रसाईली, प्रकाशतर्फ प्रकाश गिरी, नृत्य प्रिति गुरुङ, ऋंगार÷भेषभुषातर्फ सञ्जय श्रेष्ठ र सहनिर्देशनमा विभु भुषाल रहेका छन् । नाटकलाई पोखरेली नाट्य प्रतिष्ठानले विशेष सहयोग गरेको छ ।

कमेन्टहरु
Loading...