पोखरा, ६ माघ/पाहुँना टोली एएनए अमेरिकालाई हराउदै रमपम झापा ११ पोखरामा जारी १५ औं आहा रारा गोल्डकपको क्वाटरफाईनल प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहिबार भएको खेलमा झापाले पाहुँना टोली एएनए अमेरिकालाई ४—१ गोल अन्तरले हराउदै अन्तिम आठको यात्रा तय गरेको हो । झापालाई जित दिलाउने क्रममा कर्ण सुब्बाले ह्याट्रिक पुरा गरे ।उनले प्रतियोगितामै पहिलो ह्याट्रिक गरेका हुन् । खेलको २४ औं मिनेटमा सुब्बाको गोलबाट अग्रता लिएको झापाका लागि ३० औं र ९० औं मिनेटमा पुन उनलेनै गोल थपे ।
झापाको लागि अर्को गोल ७४ औं मिनेटमा बुद्ध चेम्जोङले गरेका थिए ।अमेरिकन टिमको तर्फबाट ८५ औं मिनेटमा शिशिर विश्वकर्माले सान्तोला गोल गरे । यो सँगै पहिलो पटक प्रतियोगितामा सहभागीता जनाएको पाँहुना टोली पहिलो खेलबाटै घर फर्किएको छ ।आजको विजेता झापाले सेमिफाईनल प्रवेशका लागि माघ १० गते नेपाली सेनाको आर्मी क्लबसँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत अन्तिम प्रि क्वाटरफाईनल खेलमा भोलि नेपाल प्रहरी र संकटा क्लब खेल्नेछन् । प्रतियोगिताको फाईनल खेल माघ १५ गते शनिबार हुनेछ ।