पूर्व लडाकुद्वारा रकम माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पोखरा, २१ भाद्र / स्वेच्छिक अवकाश प्राप्त पूर्व जनमुक्ति सेना नेपालले स्वेच्छिक अवकाश बापत दोस्रो किस्ताको रकम उपलव्ध गराउन माग गर्दै विहीबार (आज) जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
स्वेच्छिक अवकाश प्राप्त पूर्व जनमुक्ति सेना नेपाल, तमुवान संयोजक थमन गुरुङले प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईलाई ज्ञापनपत्र बुझाउदै स्वेच्छिक अवकाश प्राप्त पूर्व लडाकुलाई भदौमा दोस्रो किस्ता उपलव्ध गराउने भनिएकोमा सेना समायोजन विशेष समितिको ०६९ भदौ १८ गते बसेको बैठकले कात्तिक १५ पछि उपलव्ध गराउने निर्णय गरेकोप्रति आपत्ति प्रकट गरे ।
उनले दशैं तिहार जस्तो चाडको मुखमा आएर मानवीय संवेदनालाई समेत ख्याल नगरी गरिएको उक्त निर्णय पुनर्विचार तथा मागप्रति सुनुवाई गर्न एक हप्ताको अल्टिमेटम दिदै नेपाल सरकार, विशेष समिति र सरोकारवाला निकायलाई आग्रह गरे ।
त्यसैगरी सरकारले हालै गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णयप्रति विरोध जनाउदै उक्त निर्णय तुरुन्त फिर्ता लिन समेत संयोजक गुरुङले माग गरे ।
प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईले ज्ञापनपत्र बुझ्दै स्वेच्छिक अवकाश प्राप्त पूर्व लडाकुहरको माग जायज भएको उल्लेख गर्दै सरकारले प्राविधिक कारणले उक्त निर्णय गरेको हुन सक्ने भन्दै ज्ञापनपत्र सम्बन्धित निकायमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।
स्वेच्छिक अवकाश प्राप्त पूर्व जनमुक्ति सेनालाई सरकारले पहिलो किस्ता स्वरुप रु. २ लाख ५० हजार उपलव्ध गराएको र दोस्रो किस्ता रु. २ लाख ५० हजार उपलव्ध गराउन बाँकी रहेको स्वेच्छिक अवकाश प्राप्त पूर्व जनमुक्ति सेनाका सदस्य सरिता क्षेत्री थापाले बताईन् ।

कमेन्टहरु
Loading...