कर्णालीको बाढीले बर्दियामा ६ सय घर डुवानमा

कमल बिसी

४ असार, बर्दिया । लगातार तीन देखि परेको बर्षाका कारण कर्णाली नदीमा आएको बाढीले बर्दियामा ६ सय भन्दा घरहरु डुवानमा परेका छन् । बाढीले बर्दियाको दौलतपुर गाविसका वडा नं. २, ३ , ७ र ९ पूर्ण रुपमा डुवानमा परेका छन् । यस्तै राजापुर, दौलतपुर, भिम्मापुर , खैरिचन्दनपुर र पाताभार लगाएतका गाविसहरु पनि डुवानमा परेका छन् । बाढीबाट ५ सय भन्दा बढी परिवार विस्थापित भएका छन् । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

घरमा पानी पसेपछि बाढीले अन्नपात, भांडाकुडा बगाएको छ भने पीडितहरु स्थानीय नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयको भवनमा आश्रय लिएर बसिरहेका छन् । कर्णाली नदीमा पानीको बहाव बढेपछि यस क्षेत्रका अन्य गाविसहरु पनि जलमग्न भएका छन् ।

जिल्लाको भौराटापु भनेर चिनिने उक्त क्षेत्र प्रत्येक बर्ष बाढीको उच्च जोखिममा पर्ने गरेको छ । पूर्वमा कोठियाघाट र पश्चिममा गेरुवा नदीले बर्षेनी त्यहाँको सयौं हेक्टर जमिन कटानमा पर्ने गरेको छ । कर्णाली नदीबाट डुवानमा परेका ठाउँहरुमा उच्च सतर्कता अपनाईएको बर्दियाका प्रहरी नायक उपरीक्षक यमुना रजकले जानकारी दिनुभयो ।

बढी प्रभावित क्षेत्रमा प्रहरीले उच्च सतर्कताका साथ सावधानी अपनाउन समेत स्थानीयलाई आग्रह गरेको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकले घरमा रहेका महत्वपुर्ण कागजात, बालबालिका, बृद्धबृद्धा र अपांगहरुलाई बाढी आउनु पूर्व सुरक्षित स्थानतर्फ लैजान सुझाव दिनुभएको छ । बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्लाका विभिन्न ठाउँमा भएको बाढीको निरीक्षण र उद्धारको लागि गएको प्रमुख जिल्ला अधिकारीसहितको टोली कोठियाघाट अलपत्र परेको थियो । गृह मन्त्रालयको निर्देशनमा त्यहाँका बाढी पीडितहरुलाई हेलिकप्टरबाट राहत सामाग्री वितरण गर्ने तयारी भइरहेको छ ।

बबई नदीमा पनि पानीको बहाव बढेपछि त्यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् । बगनाहा, पद्नाहा, मगरागाडी, धधवार र गुलरिया नगरपालिका क्षेत्र आसपासका स्थानीयहरु त्रसित बनेका हुन् ।

– See more at: http://www.onlinekhabar.com/2013/06/83496/#sthash.4cG9SAK0.dpuf

कमेन्टहरु
Loading...