सैनिक आवासीय महाविद्यालयको बालगीति एल्बम ‘आलोक’ विमोचित

पोखरा, ३ पोखरा/सैनिक आवासीय महाविद्यालय फूलबारी पोखराद्वारा तयार गरिएका बालगीति संग्रह ‘आलोक’ को विमोचन भएको छ । महाविद्यालय सञ्चालक समितिका अध्यक्ष एवं पश्चिम पृतनाका पृतनापति उपरथी यज्ञ विक्रम राणाले संग्रहको विमोचन गरेका हुन् । महाविद्यालयका प्राचार्य र शिक्षकहरुको शब्द रचनामा महाविद्यालयकै संगित प्रशिक्षक विनोद बानियाको संगीत र अध्ययनरत विभिन्न छात्रछात्राहरूद्वारा स्वरबद्ध गरिएको गीति संग्रहमा सातवटा गीतहरू संग्रहित छन् ।

महाविद्यालयको दैनिक पठनपाठनमा संगीत विषयलाई समेत समावेश गरी विद्यार्थीहरूलाई गीत संगीतको ज्ञान दिनुका साथै यस क्षेत्रमा आयोजना हुने विविध बालगीत प्रतियोगिताहरूमा छात्रछात्रालाई प्रतियोगिताका भाग लिदै आएका थिए । बालगीत प्रतियोगिताहरूमा प्रथम स्थान हासिल गर्ने सफल गीतहरू तथा अन्य गीत समेत समावेश गरी बालगीति एल्बम ‘आलोक’ तयार गरिएको प्रशिक्षक एवं गायक विनोद बानियाले बताए ।

कार्यक्रममा विद्यालयका प्राचार्य खेमराज देवानले महाविद्यालयमा देखेका धेरै सपनाहरु मध्ये अर्को एउटा सपनालाई मुर्त रुप दिन पाएकोमा खुशी व्यक्त गरे । गीतहरुको समिक्षा गर्दै समिक्षक सह–प्रा. डा. कुसुमाकर न्यौपानेले देश भक्तिका भावना तथा बाल सुलभ क्रियाकलापलाई सचित्र वर्णन गर्न एल्बमका गीतहरु सफल रहेको बताउँदै संगीत पक्ष समेत उत्कृष्ट रहेको बताएका थिए ।

कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष निर्देशप्रसाद कोइरालाले सैनिक महाविद्यालयको सांगितिक प्रस्तुति अवलोकन गरिसकेपछि प्याब्सन अन्तर्गतका विद्यालयहरुमा पनि यस्तै खाले कार्यक्रमको आवश्यकता महसुस गरेको बताए । कार्यक्रममा एल्बममा समावेश सात वटा गीतमा कुल २३० जना विद्यार्थीहरुले सामुहिक गायन, सामुहिक नृत्य र गीति नाटक प्रस्तुत गरेका थिए ।

एल्बममा गीतको शब्द रचना गर्नुहुने महाविद्यालयका प्राचार्य खेमराज देवान, शिक्षक तुलसी प्रवास र शिक्षक भोजकुमार सुवेदी, एल्बमका संगीतकार महाविद्यालयका संगीत शिक्षक विनोद बानिया, एरेन्जरहरु, एल्बमको नाम जुराउने महाविद्यालयकै विद्यार्थी सिभानजङ्ग शाह, एल्बममा आवाज दिने विद्यार्थी भाइबहिनीहरु, समिक्षक तथा अन्य सहयोगीहरुलाई प्रशंसा पत्र एवं प्रमाण पत्र वितरण गरिएको थियो ।

कमेन्टहरु
Loading...