पश्चिमाञ्चल माविको रजत जयन्ती

पोखरा, २३ मंसिर /पश्चिमाञ्चल माध्यमिक विद्यालयको रजत जयन्ती सुरु भएको छ । रजत जयन्तीको अवसरमा गैह्रापाटनस्थित विद्यालय परीसरमा विहीबारदेखि सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । रजत जयन्ती सप्ताहको पहिलो दिन विहीबार बिहान प्रभातफेरी गरिएको छ । पञ्चेबाजा बजाउँदै विद्यालयबाट सुरु भएको प्रभातफेरी गणेशटोल, नालामुख, तेर्सापट्टी, नदीपुर, पालिखेचोक, महेन्द्रपुल चिप्लेढुंगा, सिद्धार्थचोक बाट रामकृष्णटोल हुँदै विद्यालयमै फर्केको थियो ।

प्रभातफेरीमा विद्यालयतहका विद्यार्थी सहित उच्चमावि र लेकसिटी कलेजका विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी र व्यवस्थापन समितिका पदाधिकारी सहभागि थिए । मंसिर २९ गतेसम्म संचालित हुने जयन्तीमा जेष्ठ नागरिक सम्मान, सहित विद्यार्थीको प्रतिभा प्रस्तुती, निबन्ध लेखन तथा शैक्षिक प्रदर्शनी हुनेछन् । त्यस्तै विद्यार्थीका विभिन्न टीमबीच बास्केटबल प्रतियोगिता, रक्तदान कार्यक्रम सहित पूर्व विद्यार्थीको पूर्नमिलन सहित सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका प्राचार्य ताराबहादुर घिमिरेले बताए ।

रजत जयन्तीको पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले उद्घाटन गरे । २५ वर्ष अघि स्थापना भएको विद्यालयले अहिलेसम्म हजारौं शिक्षित जनशक्ति उत्पादन गरिसकेको छ । आगामि दिनमा विद्यालय, उच्चमावि र क्याम्पसको शैक्षिक गुणस्तर बढाउन थप सक्रिय भएर लाग्ने रजत जयन्ती समारोमा प्राचार्य घिमिरेले बताए ।

फाउण्डेसन अध्यक्ष पराजुलीले शैक्षिक जनशक्ति उत्पादनमा पश्चिमाञ्चल मावि सक्रिय भएर लागेको बताए । उनले आगामि दिनमा नयाँनयाँ विषयमा अध्यापन गराएर थप जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको बताए । ‘अहिलेसम्म हामीले धेरै नै सक्षम र सबल जनशक्ति उत्पादन गरेका छौं । हाम्रो उत्पादनले अहिले विभिन्न ठाउँमा उच्चस्थान ओगटेका छन्’ उनले भने, ‘यो यात्रा अझै लामो हुनेछ । आगामि दिनमा हाम्रो मेहनत अझै बढ्नेछ ।’

विद्यालयमा २०६० सालदेखि उच्चमावि तहको पढाई सुरु भएको थियो । उच्चमाविमा अहिले विज्ञान, व्यवस्थापन र मानविकी संकायमा अध्यापन हुन्छ । त्यस्तै फाउन्डेसनले नै संचालन गरेको लेकसिटी कलेजमा २०६५ सालदेखि स्नातक तहको पढाई सुरु भएको थियो । लेकसिटीमा अहिले व्यवस्थापन र मानविकी संकायमा अध्यापन हुन्छ ।

कमेन्टहरु
Loading...