लायन्स क्लब अन्तराष्ट्रिय क्याविनेट बैंठक पोखरामा, तयारी अन्तिम चरणमा

पोखरा, २ मंसिर/पोखरामा लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ नेपालको दोस्रो क्याविनेट बैंठकको तयारी अन्तिम चरणमा पुगेको छ । बैंठकको लागि आवश्यक सबै तयारी पूरा भएको र सहभागिको रजिष्टेशनको पनि काम भइरहेको संयोजक बसन्त गिरीले जानकारी दिए ।

क्याविनेट बैंठकमा करिब २२ सय लायन्स प्रतिनिधिको सहभागिता रहने उनको अनुमान रहेको छ । लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ नेपाल अन्तर्गत १६ जिल्लामा २ सय ९० क्लब मार्फत झण्डै ८ हजार सदस्यहरु रहेका छन् । पोखरामा मात्रै ९३ वटा लायन्स क्लब छन् । शुक्रवार दिउसो १ बजे सुरु हुने क्याविनेट बैंठक साँझ ७ बजेसम्म चल्नेछ । बैंठकमा प्रमुख अतिथिको रुपमा लायन्स क्लब अन्तराष्ट्रिय डाइरेक्टर सञ्जय खेतन र अन्य अन्तराष्ट्रिय तथा राष्ट्रिय अज्रज लायन्सको सहभागिता रहने गिरीले बताए ।

 बैंठक सम्पन्न गर्न गठित मूल आयोजक समिति र विभिन्न उपसमितिले आ आफ्नो तयारी पूरा गरेको उनले जानकारी दिए । बैंठकमा लायन्स क्लबले अहिलेसम्म गरेका कामको समिक्षा गर्दै आगामी एजेण्डाका विषयमा समेत छलफल हुने लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ नेपालका फष्ट भाईस डिस्ट्रिक्ट गभर्नर धनराज आचार्यले जानकारी दिए । प्रत्येक तीन महिनाको अन्तरालमा बर्षभरी हुने चार वटा क्याविनेट बैंठक मध्ये पोखरामा आयोजना गर्न लागिएको दोस्रो बैंठक विजनेश बैंठकको रुपमा रहेको उनले बताए ।

अन्तराष्ट्रिय स्तरमा लैजाने एजेण्डाका विषयमा पनि छलफल हुनेछ । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हार्ट कियर सेन्टर स्थापना गरेको लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ नेपालले अब लेखनाथ स्थित लेखनाथ सामुदायिक अस्पतालमा आमा र बच्चाको उपचारका लागि आवश्यक १ लाख डलर मुल्य बराबरको सामाग्री भित्र्याउदैछ ।

त्यस्तै आगामी दिनमा धादिङ अस्पतालको लागि पनि अन्तराष्ट्रिय सहयोग जुटाउने योजना छ । लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ नेपाल अन्तर्गत प्रतिबर्ष ८ लाख डलरको योजना आउने गरेको छ । यसैविच मंसिर ३ गते नै लायन्स क्लबका सबै डिस्ट्रिक्टहरुको क्याविनेट बैंठक पोखरामा हुदैछ । पोखराका विभिन्न स्थानमा एकैसाथ सञ्चालन गर्ने गरी नेपालका सबै लायन्स क्लबका डिस्ट्रिक्ट क्याविनेट बैंठक आयोजना गरिएको हो ।

कमेन्टहरु
Loading...