पोखरा, १३ कात्तिक/ भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपालको राजकीय भ्रमणको सिलसिलामा कात्तिक १९ गते पोखरा आउने भएपछि पोखरामा भएको स्थानीय तयारी सम्बन्धमा उच्चस्तरीय टोलीले आज जानकारी लिएको छ ।
तयारीबारे जानकारी लिन उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, स्थानीय विकास मन्त्री, मुख्य सचिव, गृह सचिव, उच्च सुरक्षा अधिकारी लगायतको उच्चस्तरीय टोलीले आज पोखरामा जानकारी लिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणलाई भव्य रुपमा सफल बनाउन पोखरामा भैरहेका काम बारे पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालले जानकारी गराउनुभएको थियो ।
उक्त क्रममा पश्चिमाञ्चल विकास क्षेत्रस्थित सुरक्षा निकायका प्रमुख, कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली लगायतको उपस्थिति रहेको थियो । टोलीले आजै राष्ट्रपति मुखर्जीले आराम गर्ने भनिएको पोखराको विरौटास्थित ग्रान्ड होटल, औपचारिक कार्यक्रम हुने भारतीय पेन्सन क्याम्प लगायतका स्थलको स्थलगत अवलोकन समेत गरेको छ ।
भ्रमणलाई सफल बनाउन मूल व्यवस्थापन समिति अन्तर्गत गठित स्वागतद्वार निर्माण तथा सरसफाई, स्वागत व्यवस्थापन, निर्माण र पूर्वाधार तथा प्रचार प्रसार समितिले पोखरामा आफ्नो तयारीलाई अघि बढाइसकेका छन् । उपसमितिहरूले आफ्नो जिम्मामा भएका सम्पूर्ण कार्य कात्तिक १८ गते अगाबै सम्पन्न गर्ने गरी काम सुरु गरेका हुन् ।
प्राप्त कार्यक्रम अनुसार राष्ट्रपति मुखर्जी कात्तिक १९ गते १२ ः४५ वजे पोखरा विमानस्थलमा आईपुग्ने कार्यक्रम छ । विमानस्थलवाट सिधै खाना खानका लागि पोखरा ग्राण्ड होटलमा जाने र केही समय आराम गरेपछि पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा जम्मा भएका भारतीय भूतपूर्व सैनिकहरूको भेलालाई सम्बोधन गरी उहाँ काठमाडौं फर्कने कार्यक्रम छ ।